अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


काठमाण्डु – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा आरोपमा मुद्दा लगाइएको छ ।

पक्राउ परेपछि उनलाई हतकडी भने नलगाइएको बीबीसीले जनाएको छ । उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारसँगको अफेयर र यसबारे चुप बस्न पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई एक लाख ३० हजार डलर दिएको र यसका लागि व्यापार अभिलेखमा गडबडी गरेको आरोप लागेको छ ।

ट्रम्पले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरूको खण्डन गर्दै यसलाई राजनैतिक अभियोजनको संज्ञा दिँदै आएका छन् । सिएनएनका अनुसार अदालतको अर्को सुनुवाइ डिसेम्बर ४ मा हुनेछ । ५७ मिनेटको सुनुवाइपछि फ्लोरिडास्थित आफ्नो घर ‘मार-ए-लागो’ पुगेका ट्रम्पले मिडियासँग संक्षिप्त कुराकानी गर्दै अमेरिकाको इतिहासमा यस किसिमको दिन आउँला भन्ने नसोचेको बताएका छन् ।

‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी इतिहासमा यस्तो घटना हुनेछ। मैले गरेको एउटै अपराध भनेको मेरो देशलाई नष्ट गर्न चाहनेहरूबाट निडरताका साथ रक्षा गर्नु हो,’ उनले भने ।

ट्रम्पले मङ्गलवार राति करिब ११ः३० बजे अदालत बाहिर आत्मसमर्पण गरेका थिए । त्यसपछि न्युयोर्क प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement