कैलाली – नेपाली कांग्रेसको डोटी जिल्ला कार्य समितिले गठबन्धन नगर्ने निर्णय गरेको छ । गठबन्धनमा आवद्ध दलहरुबीच नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई डोटीमा सिट दिने सहमति हुने सम्भावना बढेसंगै डोटी कांग्रेसले भने उक्त निर्णय नमान्ने संकेत दिएको हो ।
बिहिबार बसेको कांग्रेस जिल्ला समितिको बैठकले डोटीमा कुनै दलसंग तालमेल नगर्ने निर्णय गरेको हो । उक्त बैठकले एक्लै चुनाव लड्ने भन्दै आकांक्षीहरुको नाम समेत सिफारिस गरेको छ ।
डोटीमा पूर्व भौतिक योजना मन्त्री समेत रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायर र आलेबीच अस्वस्थ प्रतिस्पर्धा छ । बलायरले यसअघि नै आलेलाई छोड्न नसकिने बताउंदै आएका थिए । आलेले बलायरलाई यसअघि पराजित गरेका थिए । बलायरलाई प्रदेशमा पठाएर आलेलाई प्रतिनिधिसभामा ल्याउने तयारी शिर्ष नेतृत्वको भएपनि त्यसमा बलायरले मानेका छैनन् ।
बिहिवार कार्यसमितिको बैठक नै बसेर जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेपछि त्यसले झन् समस्या थपेको छ । डोटीमा पूर्व मन्त्री आलेले मात्र नभई सुदुरपश्चिमका मुख्यमन्त्री समेत रहेका माओवादी नेता त्रिलोचन भट्टले समेत प्रतिनिधिसभामा दावि गरिरहेका छन् । तर, डोटीमा उनले टिकट पाउने सम्भावना भने कम छ ।
डोटीमा कांग्रेस सबैभन्दा बलियो छ । गठबन्धन नहुंदा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने अवस्था छ । तर, गठबन्धन बनेको अवस्थामा भने गठबन्धनको अवस्था मजबूत हुने अवस्था छ ।
स्थानीय चुनावमा सबै दल मिलाउँदा पनि कांग्रेस बलियो भएकाले पनि सिट नछोड्ने कांग्रेस नेताहरुले अडान राखेका हुन् । डोटीमा एक सिट रहेको प्रतिनिधिसभामा बलायरसहित प्रदेशसभा सदस्य भरत बहादुर खड्काले पनि दाबी गरेका छन् । खड्का बाम गठबन्धनलाई हराएर प्रदेशको सांसद निर्वाचित भएका थिए । उनि जनआधार भएका नेताका रुपमा चिनिन्छन् । उनले यसपटक आफुले प्रतिनिधिसभा नछोड्ने अडान लिएका छन् ।
प्रतिनिधिसभामा यज्ञराज पाठक, आनन्द विष्ट र धिरेन्द्र शाहीको समेत दावी छ । प्रदेश सभा क तर्फ नरेन्द्र बहादुर सिंह र जित बहादुर खड्का तथा ‘ख’ तर्फ प्रदीप कुमार देउवा र भूमिराज बडुले दावी गरेका छन् ।




प्रतिक्रिया