धनगढीमा हुने डिपिएललाई आइसिसीको मान्यता


धनगढीः अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यही चैतमा धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ ।

आइसिसीका सिनियर क्रिकेट अपरेशन म्यानेजरद्वारा प्रेषित पत्रमा आइसिसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई रुस्लान डिपिएल–२ लाई आइसिसीको मान्यता रहेको जानकारी गराइसकेको धनगढी क्रिकेट एकेडेमीद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकेडेमीका अध्यक्ष सुभाष शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको मात्र नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्रा्ष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको उल्लेख गरिएको छ ।

यही चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिताको तयारीस्वरुप खेलाडीको अक्सन सम्पन्न भइसकेको छ भने पिचको तयारी भइरहेको छ । नेपालमा सर्वा्धिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख, तेस्रो हुने टोलीले तीन लाख र चौथो हुने टोलीलाई दुई लाख प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement