डा.गोविन्द केसीबारे प्रधानमन्त्री ओलीको जवाफ, ‘संसदलाई आदेश दिन सक्दिँन’


काठमाडौं – प्रतिनिधिसभामा शुक्रबार अनसनरत डा. गोविन्द केसीबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले उनका मागबारे संसदलाई आदेश दिन नसक्ने बताएका छन् ।

कांग्रेस सांसद गगन थापाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसदको आदेश आफूले मान्ने तर आदेश दिन नसक्ने बताए । सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका छन्।

प्रश्नोत्तरको समयमा थापाले प्रश्न गरे, ’सरकार र डा.केसीबीच भएको सहमति तोडमोड गरेर समितिले प्रतिवेदन दियो। संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित किन नगर्ने? प्रधानमन्त्रीको वचन हो प्रधानमन्त्री व्यक्ति हो। गोविन्द केसी ढाल बन्ने होइन प्रधानमन्त्रीको विश्वास ढल्ला भन्ने हो। यसलाई जोगाउने कि ढाल्ने?’

जवाफमा प्रधानमन्त्री ओलीले भने, ’एउटा अनशनको कुरा छ अर्को संसदको सर्वोच्चताको कुरा छ। सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने संसद हो। यसको सार्वभौमिकताको प्रश्न हो। यसप्रति म संसदको सर्वोच्चता प्रति, संसदको विधि निर्माण्मा नतमस्तक छु। १६ औं पटकको अनशन जारी छ। १५ पटकको सम्झौताको चर्चा छ। सम्झौता त्यसभन्दा पनि अगाडि भएका थिए। म निवेदन गर्न चाहन्छु विधि कस्तो हुने? एक जना अनशन बसेपछि देश नै बन्धक हुने?’

त्यसैगरी प्रम ओलीले अनशन सर्वोपरी नहुने उल्लेख गर्दै यसलाई सबैले विचार गर्नुपर्ने बताए। भने, ’तर्कले काम नगर्ने। संविधानले काम नगर्ने, राष्ट्रिय आवश्यकताले काम नगर्ने अनि व्यक्तिको अनशन सर्वोपरी हुने? यसलाई सबैले विचार गर्नु पर्छ।’ ‘मेरो चाहना पनि सम्झौता संसदले पारित गरोस् भन्ने हो तर, म दबाब दिन सक्दिन । विधि निर्माण गर्दा संसदलाई बाध्य पार्न सकिँदैन ।

यो कुरा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखले गरेका कामलाई पनि संसदले अस्वीकार गर्न सक्दछ । बदर गर्न सक्दछ । हरेकले आफ्ना सीमा, कानुनी राज्यको दायित्वलाई मान्नु पर्दछ । कानुनभन्दा माथि कोही पनि हुन सक्दैन । हामी सबै संविधान कानुन विधि प्रक्रियाभित्र छौं । म जे भन्छु त्यही हुनुपर्छ भन्ने हुँदैन । संसदलाई आग्रह पनि गर्छु, आदेश दिन सक्दिन, ’ प्रधानमन्त्रीले अगाडि भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement