बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे नडराऔंः डा.पाण्डे


काठमाण्डु – जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमान्न सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन हुने क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएकाे  भन्दै डर नमान्न सुझाव दिएका हुन् ।

डा.पाण्डेले पुरानो कोरोना भाइरसभन्दा यो नयाँ प्रजातिको भाइरस ७० प्रतिशतभन्दा बढी सर्न सक्ने बताएका छन् । पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिँदा यो भाइरस भने ७० प्रतिशतभन्दा बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्ने बताएका छन् ।

उनले मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने लगायत सहि तरिकाले स्वास्थ्यका मापदण्ड अपनाइए यो भाइरस फैलिए पनि नसर्ने बताएका छन् ।

बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरसबारे यस्तो छ जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेकाे सुझावः

–बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं। यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन। भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ ।

–त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो। पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशतभन्दा बढी सर्न सक्दछ। उदाहरणका लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशतभन्दा बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्छ।

–यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन। यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।

–अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले अनिवार्य रूपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रूपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन।

–आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निङ वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८–९ घण्टा सुत्ने, मौसमी फलफूल खाने, औषधिसेवीले आफ्नो औषधि नछाड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै सँगै जानेछ।

–ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो।

–गलत सूचना नै तनावको स्रोत हो। तसर्थ आधिकारिक समाचार मात्र हेर्ने र पढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाव कम गर्ने मुख्य उपाय हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement