काठमाण्डु– स्विट्जरल्यान्डले नेपाललाई अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
शनिबार स्विट्जरल्यान्डले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको पहलमा ड्रोन नेपाल ल्याइएको जनाइएको छ।

स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने संरचनाको निरीक्षण तथा मानवीय उद्धारका लागि प्रयोग गर्न सकिन्छ।
ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ। जसका कारण सुरुङभित्र उडानका क्रममा भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि ड्रोनमा ठूलो क्षति नपुग्ने र पुनः उडान गर्न सक्ने क्षमता रहेको बताइएको छ।
यस प्रविधिबाट उद्धार टोलीले सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सक्नेछन्। फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिनेदेखि सुरुङको जोखिम मूल्याङ्कन र उद्धारको रणनीति तय गर्नसमेत ड्रोन उपयोगी हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र पठाउनुअघि ड्रोनमार्फत सम्भावित जोखिम पत्ता लगाउन सकिने भएकाले कठिन तथा जोखिमपूर्ण उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन प्रविधिले महत्वपूर्ण भूमिका खेल्नेछ।




प्रतिक्रिया