दुबईमा विमान दुर्घटना, चालक र सहचालकसहित सवार सबैको मृत्यु


दुबई – दुबई विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यूकेमा दर्ता गरिएको डीए ४२ विमान अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिणमा दुर्घटना हुँदा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन् ।

वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए ।

सो कम्पनीले रेडार तथा विमानस्थलमा अवतरण प्रणालीजस्ता उड्डयनसम्बन्धी सेवा प्रदान गर्छ र आफ्ना कर्मचारीलाई तिनको निरीक्षण तथा प्रमापन गर्न विश्वभरि खटाउँछ । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीबार साँझ ७ः३० बजेतिर तल झरेको थियो ।

सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तराष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो । विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए । दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement