किन दियो सर्वोच्चले दुर्गा प्रसाईँका बडिगार्डलाई छोड्न आदेश ?

किन दियो सर्वोच्चले दुर्गा प्रसाईँका बडिगार्डलाई छोड्न आदेश ?


काठमाण्डु- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडिगार्डलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना बडिगार्डलाई रिहा गर्न आदेश दिएको हो ।

रामकुमार धिमाल र दीपक खड्कालाई चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट हतियार, १ सय राउण्ड गोली बरामद गरेको थियो । हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा थियो । तर अदालत प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले तर्क गरेको छ ।

‘लाइसेन्स सहितको हतियार सर्तसहित बोकेको र अदालत परिसरभित्र प्रवेश गर्दा लैजान नमिल्ने भन्दै अदालत बाहिरै रहेन व्यक्तिलाई बोक्ने दिएको अवस्थामा पक्राउ गरी म्याद थपसमेत गरेर अनुसन्धान तहकिकातको कार्य कानूनसम्मत नभइ निवेदकको थुना गैरकानूनी देखिन आयो । अतः निवेदनकलाई दिएको जरुरी पक्राउ पूर्जी, थुनुवा पूर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’ आदेशमा उल्लेख गरिएको छ ।