महिलाको ‘चरित्रहत्या गरेको’ आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

महिलाको ‘चरित्रहत्या गरेको’ आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर


काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध महिलाको ‘चरित्रहत्या गरेको’ आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए ।

असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाइले दुबईबाट पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए । सो दाबीलाई स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका संग्रौलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताएकी थिइन् ।

त्यसविरुद्ध पर्साईले देश दुनियाँ खबर नामक युटुव च्यानलमा ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ! वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन भन्ने अन्तर्वार्ता दिएका थिए ।

प्रसाईंसँगै प्रहरीले देश दुनियाँ खबर सञ्चालन गर्ने जीवन पाण्डे र अन्तर्वार्ता लिने प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी लिएको थियो । उनीहरू दुबै जना फरार छन् । प्रसाईंले ‘चरित्रहत्या गरेको’ आरोप लगाउँदै संग्रौलाले उजुरी दिइकी थिइन् । आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि संग्रौलाले प्रहरीको ब्युरोमा जाहेरी दिएकी हुन् ।

विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा प्रसाईलाई ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ ।