सरकारले जापानका राजदूत सुवेदीलाई पनि साउनमा फिर्ता बोलाउने

सरकारले जापानका राजदूत सुवेदीलाई पनि साउनमा फिर्ता बोलाउने


काठमाण्डु – सरकारले जापानका लागि नेपाली राजदूत दूर्गाबहादुर सुवेदीलाई साउनमा फिर्ता गर्ने भएको छ । परराष्ट्रका सहसचिव भएपनि नेपाली कांग्रेसको राजनीतिक कोटामा राजदूत नियुक्त भएका सुवेदीलाई उनको सेवाअवधि सकिएसंगै फिर्ता बोलाउन लागिएको हो ।

गत बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सुरुमा सुवेदीको नामसमेत फिर्ता गर्ने सूचीमा भए पनि अन्तिममा उनको थमौति भएको थियो ।

सरकारले भारतका राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका, ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, श्रीधर खत्री अमेरिका, कान्ता रिजाल इजराल, प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी) दक्षिण कोरिया, नवराज सुवेदी साउदी, नरेशविक्रम ढकाल कतार र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पोर्नचुगलमा नयाँ राजदूतवास खोलेर राजदूत नियुक्त गरिएका सनिल नेपालको नियुक्तीसमेत सरकारले रद्द गर्ने निर्णय गरेको थियो । नेपाललाई उद्योगपति विनोद चौधरी र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको सिफारिसमा नियुक्त गरिएको थियो । उनको नियुक्ती नयाँ सरकारले खारेज गरेको हो ।

उच्च राजनीतिक तहमा सुवेदीलाई तत्काल नफर्काउने तर, उनले अवकास पाउने वित्तिकै फिर्ता बोलाउने सहमति भएको स्रोतले जनाएको छ । सुवेदी बीचमा नेपाल आएर आफूलाई नफर्काउन भन्दै विभिन्न शक्तिकेन्द्र पुगेका थिए । उनले नियुक्त हुँदा आफू परराष्ट्रको भए पनि बाहिरको कोटाबाट नियुक्ती भएको भन्दै धन्यवाद दिन सहकर्मीहरूलाई बताउने गरेको परराष्ट्र स्रोतले बतायो ।

राजदूत सुवेदी बेलायतमा चार वर्ष बसेर फर्केलगत्तै जापानमा राजदूत नियुक्त भएका थिए । तत्कालिन सरकारको नेतृत्वमा बसेकाहरुले उनलाई जापानमा राजदूत बनाउने र बिचमा फिर्ता बोलाएर परराष्ट्र सचिव बनाउने योजना थियो ।

राजदूत सुवेदीको कार्यसम्पादनमा समेत परराष्ट्रले प्रश्न उठाउँदै आएको छ । उनि यसअघि बेलायतमा राजदूत थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयबीरलाई बेलायत हुँदा रेखदेख गरेको उपहारस्वरुप उनलाई जापानमा राजदूत बनाइएको निकट स्रोत बताउँछ ।

तत्कालिन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले २० देशका लागि राजदूत नियुक्त गरेको थियो । जसमा १२ जना राजनीतिक दलको कोटाबाट र आठ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्त भएका थिए ।

राजनीतिक दलबाट विष्णुपुकार श्रेष्ठ चीन, दानबहादुर तामाङ दक्षिण अफ्रिका, शर्मिला पराजुली स्पेन, बासुदेव मिश्र श्रीलंका, मिलन तुलाधार रुस, कैलाश पोखरेल अष्ट्रेलिया, डिल्लीराज पौडेल मलेसिया, शान्ता रिजाल इजरायल, ज्योति प्याकुरेल दक्षिण कोरिया, राम राययादव डेनमार्क, नवराज सुवेदी साउदी अरब र नरेशविक्रम ढकाल कतारमा राजदूत नियुक्त भएका थिए ।

परराष्ट्र समूहबाट ७ जना पाउनेमा घनश्याम भण्डारी बंगलादेश, हरिशचन्द्र घिमिरे म्यानमार, तीर्थराज वाग्ले बहराइन, डोरनाथ अर्याल ओमन, सुशीलकुमार लम्साल इजिप्ट, भरतकुमार रेग्मी अष्ट्रिया र निर्मलराज काफ्ले ब्राजिल थिए । सुवेदीले परराष्ट्रको कोटाबाट राजदूत नपाउने भएपछि उनलाई राजनीतिक कोटाबाट भन्दै राजदूत नियुक्त गरिएको थियो ।

सरकारले अहिले फिर्ता बोलाउने तयारी गरेपछि उनले करिअर डिप्लोम्याटलाई फिर्ता गर्दा सिस्टम बिग्रने भन्दै लविङ गरिरहेका छन् । तर, सुवेदीलाई परराष्ट्र सेवाबाट अवकास पाएसँगै फिर्ता गर्ने सरकारको तयारी छ । यसबारेमा शिर्ष तहमा समेत सहमति बनेको स्रोत बताउँछ ।

यता, भर्खरै फिर्ता गरेका केही राजदूत जसरी पनि थमौति गर्न लागेको चर्चा छ । युरोपतिरबाट फिर्ता भएका राजदूतहरूले शिर्ष नेताहरूको तहमा दबाब बढाएको बताइन्छ ।