डिएसपीसहित तीन प्रहरी अधिकृतमाथी फौजदारी मुद्दा चलाउन सिफारीस


काठमाडौं– ल्यान्डमार्क होटलमा भएको बलात्कार काण्डमा प्रहरीमाथि पनि फौजदारी मुद्दा चलाउन छानबिन समितिले सिफारिस गरेको छ । घटनाको प्रकृति हेर्दा र युवतीको बयान सुन्दा सामूहिक बलात्कार भएको ठहर गर्दै समितिले प्रहरीमाथि पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको हो ।

माघ ७ गते राति भएको घटनाको छानबिन गर्न गठित पाँच सदस्यीय समितिले बलात्कार काण्ड मिलाउन भूमिका खेल्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती, प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण सिंह ठकुरी र प्रहरी नायव निरीक्षक (सई) चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी हदैसम्मको कारबाही गर्न सिफारिस गरेको छ । एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित टोलीले बिहीबार आफ्नो प्रतिवेदन एसएसपी रवीन्द्र धानकूलाई बुझाएको छ । प्रतिवेदनमा तीनै जना प्रहरी अधिकारीले आर्थिक प्रलोभनका कारण बलात्कारजस्तो जघन्य अपराधमा मुद्दा नलचाई मिलापत्र गराउन संलग्न रहेको ठहर छ ।

ल्यान्डमार्क होटलमा भएको बलात्कार काण्डमा पीडित युवतीको उजुरीलाई नलिई उनीहरूले सो अपराधमा संलग्न चारै जना युवालाई छाडेर मिलापत्र गराएका थिए । घटनाको तीन दिनपछि मात्र समाचार बाहिर आएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

छानबिन प्रतिवेदनमा डिएसपीसहित तीनै जनालाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाहीका लागि सिफारिस गरिएको छ । डिएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने इन्स्पेक्टर ठकुरी र सई भण्डारीलाई यसअघि नै निलम्बन गरिएको थियो ।

मुद्दा अनुसन्धानका क्रममा उनीहरूले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानुनबमोजिम कारबाहीसमेत अघि बढेर जाने उल्लेख छ । प्रतिवेदनमा समितिले भनेको छ, ‘सामूहिक बलात्कारजस्तो गम्भीर फौजदारी अपराधलाई कानुनी प्रक्रियामा अगाडि बढाउनुको साटो पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराई अपराध लुकाउने÷छिपाउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान भई निजहरूउपर मुद्दाको रोहमा कारबाही गरिने ।’

प्रहरीले पीडित युवतीकै जाहेरी दरखास्त दर्ता गरी घटनामा संलग्न भनी किटान भएका शैलेश कार्कीसहित विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलको खोजी कार्य तदारुकताका साथ भइरहेको र निजहरू चाँडै नै प्रक्राउ पर्ने जनाइएको छ । एसपी दत्तले सामूहिक बलात्कार हो भन्ने निष्कर्षमा आफूहरू पुगेको भन्दै सोहीअनुसार मुद्दा चलाउन सिफारिस गरेको जानकारी दिए । ‘पीडित र उनकी आमासँग बयान लिएपछि आफूहरू यो निष्कर्षमा पुगेकाले घटनामा संलग्न प्रहरीलाई निलम्बन गरी मुद्दा चलाउन सफारिस गरेका हौं,’ एसपी दत्तले भने ।

सामूहिक बलात्कार घटनामा किटान भएका चार आरोपीमध्ये शैलेश घटनापछि केही दिनसम्म सो मुद्दा मिलाउन महानगरीय प्रहरी वृत्त दरबारमार्ग आएका थिए भने उनी एक रात थुनामा समेत बसेका थिए । अनुसन्धानका क्रममा समितिले बलात्कारमा परेकी युवतीकी आमाको नाममा दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा २७ लाख रुपैयां रहेको भेट्टाएको छ । युवतीलाई ३० लाख दिने सहमति भए पनि त्यसमध्ये तीन लाख रुपैयाँ सई भण्डारीले लगेका थिए ।

इन्स्पेक्टर र डिएसपीले के–कति रकम लगे, भनिएको छैन । सो विषयमा घटनामा संलग्न अभियुक्तहरू प्रक्राउ परेपछि मात्र खुल्ने समितिमा रहेका एक प्रहरी अधिकारीले जानकारी दिए । घटनामा इन्स्पेक्टर ठकुरीले ९ माघको थुनुवा सूची गायब बनाएर अभियुक्तहरूलाई भगाएका थिए । यस विषयमा छानबिन गर्न प्रहरीले अर्को टोली पनि गठन गरेको छ भने राष्ट्रिय मानवअधिकार आयोगले समेत बेग्लै टोली बनाएर अनुसन्धान गरिरहेको छ । आजको सौर्य दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement