भूकम्प र पहिराले विस्थापितहरू एकीकृत बस्ती निर्माणमा


नुवाकोट–भूकम्पले आवासमा क्षति र त्यसपछिको सुक्खा पहिराले बस्ती बगाएपछि विस्थापित तादी–१ उर्लेनी काल्चेका मानिसहरू सुरक्षित स्थानमा आवास पुनःनिर्माण गर्न थालेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको दुई लाख लगानीमा तादी–३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका प्रभावितमध्ये २२ परिवारले एकीकृत बस्तीको जग बसालेका छन् । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका सुक्खा पहिराबाट विस्थापित जीवन बिताउँदै आएकाहरूलाई पुनःस्थापना गराउन अक्सफामसँगको साझेदारीमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन)ले आवास निर्माणमा प्राविधिक एवं आर्थिक सहयोग पु¥याउँदै आएको छ ।

काल्चेबाट विस्थापितहरूले आवास बनाइरहेको विस्थापितको समिति ‘बुदुने एकीकृत बस्ती विकास तथा विस्तार समिति’का अध्यक्ष नरबहादुर तामाङले बताए । कार्डसनको सहयोगमा आवास निर्माणसम्बन्धी तालीम लिएका प्रभावित महिला र पुरुष सँगसँगै आवास निर्माण गर्न घडेरी खन्ने, इँटा बनाउने, गाह्रो लगाउने, आरो चलाउने, रड काट्ने तथा रिङ बनाउन व्यस्त छन् । कार्डसनको सहयोगमा आफ्नो घर आफैँ बनाउन थालेकाले एक महिनामा पूरा गर्ने लक्ष्य रहेको विस्थापित जीवन बिताउँदै आएका ६५ वर्षीय शेरबहादुर तामाङले बताए ।

काल्चेबाट विस्थापित ७३ परिवारमध्ये २९ परिवार बुदुनेमा नै घडेरी खरिद गरी घर बनाउने तयारीमा छन् भने २२ परिवारले सुरक्षित स्थानमा घडेरी नपाउँदा पुनःस्थापना अन्योल छ । नुवाकोटका विभिन्न स्थानबाट ३२४ परिवार पहिराको जोखिमले विस्थापित भए पनि अन्य स्थानका प्रभावितले पनि आवास बनाउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement