काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बालविकास शिक्षा सम्बन्धी दस्तावेजमा नै भ्रम भएको बताएका छन् ।
संघीय सांसदहरूको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले प्रारम्भिक बालविकास (ईसीडी) लाई आधारभूत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताए ।
‘हाम्रो शिक्षा सम्बन्धी डकुमेन्टमा भ्रम छ । शिक्षा नीतिमा के लेखेको छ भने १ देखि ८ कक्षासम्म आधारभूत भनिएको छ । अर्को कुनै दस्तावेजमा हेर्नुहोस् १ वर्ष ईसीडीदेखि ८ सम्म आधारभूत भनिएको छ, त्यो पनि सरकारकै दस्तावेजमा । त्यसैले सबैभन्दा पहिला हामी स्पष्ट हुनुपर्छ, ईसीडी अथवा प्रारम्भिक बालविकासलाई औपचारिक शिक्षासँग जोड्ने कि नजोड्ने ?’ उनले भने ।
उनले नीतिगत रूपमा नै प्रारम्भिक बालविकासलाई विद्यालय शिक्षाबाट अलग्गै बनाइ छुट्टै विषयको रूपमा अगाडि बढाउनुपर्ने बताए । शिक्षा सम्बन्धी कानून बनाउँदा नेपाल सरकारको शिक्षा नीति र रणनीतिको आधारमा बनाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया