“आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदान तथा सामाजिक न्यायमा प्रवासको पत्रकारिता”


काठमाडौं – तीन वर्ष जापान बसाई पछि काठमाडौमा घर जग्गा जोड्न र दाजुको विहे सम्म आफनै कमाईले गर्न भ्याएका कमल (नाम परिवर्तन)लाई निकै गौरव अनुभुति हुन्थ्यो । कम्तिमा आफन्तले काठमाडौमा घर नभएको र गरीब गाउंले भएको कारण गिल्ला गर्ने गरेको अनि पढ्नैका लागि काठमाडौमा डेरा गरी बस्दा घरबेटीले दोश्रो दर्जाको नागरीकको व्यबहार गरेको नमीठो व्यबहारलाई बुजो लगाउन सकेकोमा । प्रति महिना घर पैसा पठाउंदै कहिले काठमाडौमा घर त कहिले गाउंमा जग्गा जोडे कमलले ।

अझ पैसा नभएकै बहानामा दाजुको विहे रोकिएको विषयमा चिन्तित उनको पहिलो कमाई दाजुकै बिहेमा खर्चे । परिवार प्रतिको आफनो योगदानमा संतुष्ट थिए कमल र औधि खुशी पनि तर उनको खुशी र संन्तुष्टिमा तव तुशारोपात लाग्यो जव उनी आफै टिवीको विमारी बाट ग्रस्त भएपछि खाली हात नेपाल फर्के । विमारीकै कारण उनी ६ महिना काम नगरी बसे जापानमा । अन्तमा डाक्टरको सल्लाह अनुसार नेपाल फर्के रित्तो हात र रोगी शरीरि लिएर । फेरी पनि उनलाई एउटा विश्वास थियो । परिवारले उनलाई माया गर्ने र हौशला दिने छ । उनी स्वस्थ्य हुने छन् र फेरी कमाउन सक्ने छन् । तर भयो उल्टो । परिवारलाई लाग्यो उनी धेरै बाच्ने छैनन्, अझ त्यो भन्दा बढी आमाका नाममा घर जग्गा जोडेका कारण दाज्यु भाई र आफन्तमा अव कमलको कमाई फिर्ता दिनु पर्ने छ भन्ने चिन्ताले रोगी कमललाई माया र साथ दिनको साटो हेला गर्न थाले ।

कति सम्म भने १८ महिनाको टिवीको औषधि खान पैसा नहुंदा आफैले आमाको नाममा किनेको घरको भाडा मध्ये ३ सय को औषधि खान माग्दा नि रोक लगाय उनका परिवारले । सम्पत्तिका लागि दाज्यु भाई बीच पराई भावना र शत्रुवत व्यबहार जन्मिन्छ रे भन्ने सम्म सुनेका कमललाई जव आफनै आमाले समेत पराई व्यवहार गरे तब उनलाई संसार देखि विश्वास उठयो र निको भएपछि उनी कहिले घर फर्केर गएनन् । पारिवारीक सम्बन्ध मृत्यु पर्यन्तका लागि विषाद बन्यो कमललाई । अहिले जापान लगायत विदेशमा बसेर स्वदेशमा रहेका परिवारका लागि दुःखजीलो गर्ने नेपालीका यस्तै यस्तै कथा र व्यथाहरुको महाभारत कोरिंदै छन् । अझ गैर कानुनी रुपमा बसोबास गरी रहेका नेपालीका कथा अझै फरक हुने गदर्छ ।

गैर कानुनी रुपमा रहेका नेपालीहरु ले आफनो कमाई सोही देशमा बैंकमा जम्मा गर्न नपाउने र वैध रुपमा नेपाल पठाउन पनि नपाउंदा रकम प्राप्त गर्ने पारीवारिक सदस्य को बदनीयतका कारण पैसा र परिवार दुवै गुमाउन परेका घटना अहिले आम बन्दै छ वैदेशिक रोगारमा रहेका नेपाली नागरीक माझ । थप विदेशमा बस्ने नपालीहरुका आआफनै समस्या र बाध्यताका कारण हुने असहयोगका कारण काम नपाउंदाको बखत झेल्नु परेका दुःख र आत्म विश्वासको कमीका कारण जापानमा नेपालीहरु ले आत्म हत्या गर्ने क्रम पनि बढ्दो रहेको वताउनु हुन्छ पत्रकार शान्त पहरी । अझ महिला कामदारको पिडा महिला भएकै कारणले विभिन्न समस्या रहने कारण अझै संवेदनशिल रहने गरेको छ ।

पहरी भन्नु हुन्छ “अहिले हामी पत्रकारको जमात र एनआरएन कर्मीहरुको अधिकांस समय पैसा, यौन शोसन, विमारी उपचारका लागि खर्च र अकालमा मृत्यु भएका नेपालीहरुको शव नेपाल पठाउने विषयम मै केन्द्रित हुने गरेको छ” । महिलाको हकमा शोसन भएको थाहा पाउंदा पनि नेपालमा रहेका परिवार र उनको आफनै इज्जत र भविश्यलाई नजरमा राखेर समाचार लेख्न बाट बंचित हुन परी रहेको छ पत्रकार जमात । यदा कदा कुनै पत्रकारले लेख्ने जमर्कै गरेतापनि विभिन्न धम्की र भौतिक आक्रमण सम्म खेप्नु परेका उदाहरण थुप्रै छन् पत्रकार पहरी लगायतका पत्रकारका जमात संग ।

वास्तवमा नेपालको सामाजिक रुपान्तरनमा राजनैतिक परिवर्तनले पाराडाईम सिफट ल्याएको छ । तर समग्रमा दश वर्षे सशस्त्र द्धन्दका मारमा विस्थापित हुन परेका र परदेशी भुमिमा अनेकन कष्टका बीच पसिना बगाउनु परेका परदेशियका नेपालीका कथाका बेग्लै पाटाहरु छन् पनि । तर सो वारे नत राजनैति दलहरु माझ यी मुद्धाहरु बहसका विषय बन्न सकेका छन् नत राज्य संयन्त्र विदेशिएका र विदेशिन बाध्य पारिएका आम नेपाली नागरीकका लागि दरिलो नीति बनाउन नै आवश्यक ठान्छन् । । जवकि आथिर्क अवस्था दरिलो नभएका र आर्थिक क्षेत्रमा पहुंच नभएका आम नेपालीहरुको समृद्धि र विकासका लागि विदेशी कमाईको गर्विलो योगदान पनि भन्ने विषयमा राज्य संयन्त्र खासै गम्भीर हुन सकेको छैन ।

विश्व बैकको सन् २०१६ प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्या को ३ दशमलव चार प्रतिशत ( २४ करोड ७० लाख) जनसंख्या आफनो जन्मभुमी बाट बाहिरिन बाध्य रहेको उल्लेख गरेको छ । वैदेशिक रोजगारमा जाने देशहरुमा भारत एक नम्बरमा पर्दछ र सवैभन्दा बढी रेमिटयान्स भित्रयाउने देश भएको उल्लेख छ । त्यस्तैे कुल ग्राहस्थ उत्पादनमा रेमिटयान्स भित्रयाउने देशमा ताजकिस्तान र किर्गिकस्तान पछि नेपाल तेश्रो स्थानमा पर्दछ । नेपालमा वैदेशिक रोजगारको शुरुवाती इतिहास बेलायति सैनिकमा गोर्खा भर्ती, भारतीय सेना तथा पाकिस्तानको लाहौरमा सैन्य भर्ती लगायतका सैन्य कार्यमा नेपालीहरुको भर्तीबाट प्रारम्भ भएको इतिहास बताउंछ ।

अहिले यो स्वरुपमा परिवर्तन आएको छ । नेपाली कामदारहरु औद्योगिक क्षेत्र, होटल रेष्टुरेन्ट, व्युटी पार्ललर, सपिंग सेन्टर, ग्यास स्टेशन लगायतका स्थानमा कामदारका रुपमा वैध तथा अवैध रुपमा विदेशिने क्रमले निरन्तरता लिई रहेको छ । सन् २००५ सम्ममा वैदेशिक रोजगारका लागि फ्रान्स जापान, चीन तथा दक्षिण अप्रिका लगायतका ९९ देशमा वैदेशिक रोजारीका लागि अवसर जुटेको थियो । हाल त्यसको संख्या १ सय दश पुगेको छ । नेपालको कुल जनसंख्याको एक तिहाई जनसंख्या वैदेशिक रोजगारमा कार्यरत छन् । वैदेशिक रोजगार विभागको रिपोर्ट अनुसार आर्थिक वर्ष २०५०-५१ देखि २०७१-२ सम्ममा मात्र ४० लाख ९६ हजार पाँच सय र भारतमा मात्र ६० लाख जनशक्ति विभिन्न क्षेत्रमा कार्यरत छन् । दैनिक १५ सयको दरमा युवा जमात विदेशिने का लागि श्रम स्विकृति लिन्छन् । तर टुरिष्ट भिसा लगायत विभिन्न वहानमा विदेशिएका ठुला जमातको कमाई र संख्याको लगत नेपाल सरकार संग छैन । अध्ययनले सन् १९९० को दशक पछि नेपालमा आर्थिक वृद्धिमा रेमिटयान्सको मात्रा १० प्रतिश प्रतिशतले बढ्दै गएको देखाएको छ ।

विषेश गरी नीजि क्षेत्र र सरकारी क्षेत्र बाट उद्योग धन्दामा लगानी कम हुुनु, प्राकृतिक प्रकोप, मन्दी, राजनैतिक द्धन्द तथा सशस्त्र द्धन्दका कारण विस्थापित भएका जमात हरुले परदेशी भुमीमा कामदारको रुपमा कमाएको रकम नै नै अहिले नेपालको आर्थिक श्रोतको दरिलो श्रोतको रुपमा दरिएको छ । नेपालको आर्थिक वृद्धि दर मा रेमिटयान्सले ३१ प्रतिशत हिस्सा ओगटेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२÷७३ मा रेटियान्स आय कुल ६ सय ७९ अर्ब रुपैयां नेपाल भित्रिएको थियो । विगतमा कृषि नै प्रमुख पेशा भएको नेपालको आर्थिक अवस्था अहिले वैदेशिक रोजगारले समेत धानेको छ ।

नेपालको गरीवि निवारण र विकासका लागि वैदेशिक रोजगारको यति ठुलो योगदान रहेतापनि यो दरिलो आर्थिक श्रोतका प्रवर्तक श्रमिक नेपालीहरुको आफनै सामाजिक जिवन भने क्रमस कहाली लाग्दो बन्दै छ । कोही विद्यार्थी कोही कामदार, कोही तेश्रो राष्ट्र तिर त कोही खाडी मुलुक तिर नेपालका हरेक घरका कोही न कोही विभिन्न बहानामा विदेशिनु बाद्ययता चाहना र संस्कार बन्दै गएको छ । आफनो जिवनस्तर उकास्नका लागि र छोरा छोरीको सुखद भविश्यका लागि आम नागरीक विदेशिन जति उत्साहित छन् त्यसका दुस्प्रभाव तर्फ भने त्यति सचेत छैनन् । नत यस विष्यमा राष्ट्र गम्भीर बन्न सकेको छ नत यो श्रोतलाई गतिलो व्यवस्थापन गर्न राज्यको निकाय कुनै नीति नै बनाउन तिर तत्पर देखिन्छ ।

सामाजिक न्यायमा वैदेशिक पत्रकार र समस्या
टोक्योमा वसोबास गर्ने एक शरणार्थी नेपालीले त्यहीं अध्ययनरत एक नेपाली महिला विद्यार्थीलाई कुटपिट गरे । लामो समय देखि संगै बस्दै आएका उनीहरु बीचको मनोमालिन्य बढेर घटना कुटपिट सम्म पुग्यो । टोक्यो पुलिसले अभियुक्तलाई पक्रे र लगत्तै महिला विद्यार्थीले पत्रकारलाई जानकारी गराईन । तर प्रहरीले स्थानीय नेपाली पत्रकारलाई समाचार लेख्न र फोटो खिच्न रोक लगायो । त्यसै पनि जापान प्रहरीको संस्कारमा घटना बाहिर नल्याउने र फोटो खिच्ने प्रचलन छैन । कारण जापानमा आत्महत्या कुटपिट लगायतका अपराधका घटनाहरु यति धेरै हुन्छन् कि उनीहरु सार्वजनिक गर्नै चाहैदैनन् । शायद खराब समाचारको दुस्प्रभाव बढने खतरा रहने कारण जापानका प्रहरी संयन्त्रमा घटनाहरु सार्वजनिक गर्ने संस्कार नरहेको बताउंछन् पत्रकार शान्त पहरी ।

यस्ता थुप्रै घटनाका थली छन् नेपाली पत्रकार हरुसंग तर लेख्ने पाउंदैनन् पत्रकारहरु । नेपाली अनलाईनहरु मथि जापानका संयन्त्रहरु निकै चनाखा छन् । के लेख्यो भन्ने विषमा तुरनतै खोज हुन्छ । जुनसुकै भाषामा होस तुरन्तै अनुवाद गर्ने संयन्त्र छ । जापान प्रहरीको यो नीतिले जापानमा रहेका नेपालीहरु लाई सामाजिक न्याय दिलाउन समस्या हुने गरेको छ जापानमा रहेका नेपाली पत्रकार हरुलाई । नेपालमा पत्रकारिता गरी रहेका पत्रकारहरु अध्ययनका सिलसिलामा जापान छिर्दा पैसा भन्दा पनि समाजसेवको भावना र आफ्नो पत्रकारिता पेशा प्रतिको प्रेमका कारण नेपालमै दर्ता गरी अनलाईन चलाउंदै आएका छन् । तर जापानमा आफु आधिकारिक पत्रकार नभएका कारण आम नेपालीका आवाज विहिन आवाजहरु समाज सामु पस्किन अप्ठेरा बेहोरी रहेकाछन् पत्रकारहरुका जमात । स्थानीय पत्रकारहरु बाट नेपाली दुतावास बाट आधिकारिकता प्राप्त गर्ने प्रयास नभएको पनि होइन तर त्यसका लागि खास सपष्ट नीति नभएको कारण नेपाली दुतावासले पनि नेपाली पत्रकारहरुका सामाजिक न्यायको अभियानमा सघाउन सकेको छैन ।

श्रम वजारको विश्वव्यापिकरणमा अव नेपाली पत्रकार हरुलाई पनि नेपाल सरकारले विदेशमा रहेका आम नेपाली नागरीकका आवाज बुलन्द गर्न र उनीहरुलाई न्याय दिलाउन चौथो अंग पत्रकारहरुलाई पनि खुल्ला बातावरणमा काम गर्न आवश्यक नीतिहरु बनाउन आवश्यकता तडकारो छ । तर यो काम त्यति सजिलो भने छैन । सुचना विभागका निर्देशक तथा सुचना अधिकृत सुमन बज्राचार्य भन्छन् “नेपालमा त प्रेस पास लिन अरुका नाम प्रयोग गर्ने गलत प्रवृत्ति छ । अरुका नामको प्रेस पास म नै हुं भन्दै गलत व्यत्तिले प्रेस पास माग्न आउने संख्या थुुप्रै छ, विदेशमा बस्ने पत्रकारहरुलाई कसरी आधिकारिकता दिने, यो त खोई के सम्भव होला र ? प्रति प्रश्न निर्देशक बज्राचार्यको ।

हाल जापानमा १० वटा अनलाईन लगायत एक छापा माध्ययम संचालनमा छन् । नेपाली हरुको आप्रवास ८० हजारकै संख्यामा छन् जसमा २५ हजार नेपाली त शरणार्थी कै रुपमा रहेका छन् । वाकी विद्याथीर्, कुक व्यापारी तथा कामदारका रुपमा रहेका छन् । “जापानमा नेपाली व्रोडसिटका पत्रकार तथा स्ट्रिंगरहरु छैनन् । तसर्थ हामी समाचारका लागि राम्रो र सस्तो श्रोत बन्न सकछौं । तर यस विषयमा नेपाल सरकारको ध्यान गएको छैन । जापान सरकारका कतिपय कार्यक्रम हुन्छन् तर हामीलाई समाचार लेख्ने अनुमति हुंदैन । विदेश र स्वदेशका लागि सुचनाका संवाहक र मध्यस्थकर्ता हाम्रो लागि समेत न्याय दिन नेपाल सरकारले नसकेको अवस्था छ । जवकि पत्रकार सामाजिक न्यायका संवाहक समेत हौं, भन्छन् पत्रकार पहरी ।

मीरा राजभण्डारी अमात्य

प्रतिक्रिया दिनुहोस
Advertisement