काठमाण्डु – निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका विभिन्न विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।
छलफलमा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कानुनी, प्रविधिगत तथा व्यवस्थापकीय सुधार लगायतका विविध विषयमा विचार आदानप्रदान भएको थियो । समसामयिक चुनौती सम्बोधन गर्दै निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा सहभागी पूर्व पदाधिकारीहरूबाट सुझाव तथा पृष्ठपोषण प्राप्त भएको आयोगले जनाएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा आयोगले हासिल गरेको साखलाई कायम राख्दै थप उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।
उनीहरूले पछिल्ला समयमा निर्वाचन व्यवस्थापनमा देखिएका चुनौती सम्बोधन गर्न निर्वाचनको विधि तथा पद्धतिमा समसामयिक सुधारको सम्भावना खोज्नुपर्नेमा जोड दिएका थिए । सरोकारवालासँग निरन्तर छलफल, सूचना प्रविधिले ल्याएका सम्भावनाको उपयोग र पारदर्शी कार्यशैलीलाई निरन्तरता दिँदै परिवर्तित समयअनुसार आयोगको संस्थागत क्षमता थप अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।
समापन मन्तव्य राख्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारी पूरा गर्न वर्तमान नेतृत्व सक्षम र प्रतिबद्ध रहेको बताए ।
त्यस अवसरमा निर्वाचन आयुक्त सगुनसम्शेर जबराले उपस्थित पूर्व प्रमुख आयुक्त तथा निर्वाचन आयुक्तहरूलाई स्वागत गर्दै निर्वाचन व्यवस्थापनका क्षेत्रमा आयोगले अघि बढाएका नवीनतम कार्यबारे जानकारी गराएका थिए ।
कार्यक्रममा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा तथा निमित्त सचिव नारायणप्रसाद भट्टराईको उपस्थिति थियो ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल र नीलकण्ठ उप्रेती तथा पूर्व निर्वाचन आयुक्तहरू प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र, विश्वमान श्रेष्ठ, जयरामसिंह बोहरा, नरेन्द्र दाहाल र सुधीरकुमार शाह सहभागी थिए ।




प्रतिक्रिया