मंसिर ४ गते संघीय निर्वाचन हुनेमा आशंका !


काठमाण्डु – सरकारले हालसम्म संघीय निर्वाचनको मिति तोकेको छैन् ।  निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको तयार गर्नका लागि १२० दिनको आवश्यक पर्ने बताउँदै २२ असारमा सरकारसमक्ष २ मङ्सिरको मिति प्रस्ताव गरेको थियो ।

तर आयोगले सरकारसमक्ष मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले हालसम्म मिति घोषणा गरेको छैन् । आयोगले सरकारले संघीय चुनावको मिति घोषणा गर्नमा ढिलाई गरेकोसमेत दावी गरेको छ ।

 असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कार मङ्सिर पहिलो साताभित्र चुनाव गर्न सकारलाई आयोगले सुझाव दिँदै आएको छ । तर, सरकारले हालसम्म मिति घोषणा नगर्दा मङ्सिरमा चुनाव हुने नहुने निश्चित छैन । सत्ता गठबन्धनका शिर्ष नेताहरुले भने मंसिर ४ गते संघीय निर्वाचनको मिति घोषणा हुने दावी गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा संघीय निर्वाचन दावी गरेका छन् ।  केही दिन अगाडि काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचन ४ मंसिरमा हुने  पक्का भएको बताएका हुन् ।

उनले आफूले प्रधानमन्त्री शेर बहादुर देउवासँगको छलफलमा ४ मङ्सिरमा चुनाव हुने पक्का भएको उल्लेख गरेका थिए । ‘ प्रधानमन्त्रीसँग कुरा भएको थियो । अब निर्वाचन मंसिर ४ गते हुने पक्काजस्तै भएको छ ।’, उनले भनेका थिए ।  

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारले संघीय निर्वाचन मंसिरमा नगर्ने बताएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय निर्वाचनको मिति अहिलेसम्म नतोकिएको बताउँदै सरकारले मंसिरमा चुनाव नगर्ने जिकिर गरेका हुन् । उनले यस भन्दाअघि स्थानीय तहको निर्वाचन पनि आफूहरूले विरोध गरेकाले सरकारले समयमै निर्वाचनको मिति  घोषणा गरेको स्मरण गरे ।

‘ यो गठबन्धन सरकारले अहिलेसम्म निर्वाचनको मिति तोकेको छैन् । यो सरकारले मंसिरमा निर्वाचन गर्दैन कि जस्तो पनि लाग्दैछ । स्थानीय तहको निर्वाचन पनि नगर्ने पक्षमा हालको गठबन्धन सरकार थियो । तर हामीले चौतर्फी दवाव दियौँ, विरोध गर्यौ । त्यसपछि बल्ल स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो।’, उनले काठमाण्डुमा आयोजित कार्यक्रममा  भनेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement