निर्वाचन खर्च सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारलाई १५ हजार जरिवाना


काठमाण्डु – निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ ।

आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारलाई १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ ।

आयोगका अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भएर तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जनासमेत जम्मा ५५६२ जना उम्मेदवारहरूलाई खर्च विवरण सार्वजनिक गर्न भनिएको थियो।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन आयोगले दिएको थियो।

तर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ जनासमेत २४३५ उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको पौडेलले बताए।

आयोगले ती उम्मेदवारहरुले ३५ दिनभित्र राजस्व दाखिला गरी त्यसको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement