काठमाण्डु — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरुलाई पदमुक्त गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।
आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका हुन् । त्यसैगरी महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।
यस्तै रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।
त्यस्तै ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका-४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका-१ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका-४ का वडा अध्यक्ष पुरन सिंह वि.सी.पनि पदमुक्त भएका छन् ।
२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।





प्रतिक्रिया