निर्वाचन कार्यतालिका स्वीकृत,असोज २३ मा उम्मेदवारी दर्ता


काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ मा हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैंको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ ।

अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुनेछ। असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जानकारी दिएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ ।

समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ। निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस
Advertisement