चुनावी ‘पार्टनर’ खोज्दै एमाले, राप्रपाले देला साथ ?


काठमाण्डु – नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन बनाउने संकेत गरेको छ । आगामी मंसिर ४ एकैचरणमा गते हुने निर्वाचनमा अन्य दलले गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् ।

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि सहमति जुटाउने प्रयास गरिरहँदा एमालेले पनि ‘पार्टनर’ खोज्न थालेको हो । नेकपा एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले मंसिर ४ गते हुने चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द नगरिएको स्पष्ट पारे ।

मंगलवार पत्रकारहरूसँग कुरा गर्दै पृथ्वी सुब्बा गुरुङले एजेण्डा मिल्नेसँग कुरा भइरहेको बताए । तर, उनले कुन–कुन दलसँग कुरा भइरहेको छ भन्ने खुलाएनन् ।

‘आगामी सरकार नेकपा एमालेको बहुमतको सरकार बनाउने रणनीतिअनुसार राजनीतिक प्रतिवेदन तयार हुँदैछ’ गुरुङले भने, ‘गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द गरेका छैनौँ, एजेण्डा मिल्नेसँग कुरा भइरहेको छ । हामी चुनौती सामाना गरेर चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । एक्लैले चुनाव जित्न सक्छौँ ।’

कोसँग गठबन्धन हुँदैछ भन्ने पत्रकारको प्रश्नमा गुरुङले भने, ‘यो झ्याली पिटाउँदै हिँड्ने विषय होइन ।’ १६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल मिलाएको खण्डमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ठूलो बनेको दल एमाले यसपटक कमजोर हुने देखिएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि त्यसलाई नै देखाइरहेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली भने गठबन्धन भएपनि आफूहरुलाई पराजित गर्न नसक्ने दावी गर्दै आइरहेका छन् ।

चुनाव आउन तीन महिना बाँकी छ । तीन महिनाको अवधीमा कुन दलसँग कुन दलको तालमेल हुन्छ र देशको राजनीति कता जान्छ भन्न सकिँने अवस्था छैन ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलले तालमेल गरेर जाने सहमति गरिसकेका छन् ।

उनीहरु सिट बाँडफटको किचलोमा अड्किएका छन्, उनीहरुबीच तालमेल हुँद त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्ने छ ।
आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र थियो । तर गठबन्धन भत्काउन नसक्ने भएपछि एमालेले निर्वाचनको लागि ‘पार्टनर’ खोज्न थालेको हो ।

एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरेको थियो । तर उक्त सम्भावना पनि लगभग सकिएको छ । लोसपाले पनि सत्ता गठबन्धनमै आउने प्रयास गरिरहेको छ ।

यता एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेलको प्रयास गरिरहेको बुझिएको छ । त्यसका लागि एमाले अध्यक्ष ओलीलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २७ साउन साँझ बालकोट पुगेका थिए । उनी चुनावी तालमेलका विषयमा छलफल गर्न त्यहाँ पुगेका हुन् ।

एमाले र राप्रपाबीच ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेलको प्रयास भइरहेको स्रोतले जानकारी दियो । उक्त भेटमा तालमेल गरेर जाने विषयमा छलफल भएको र राप्रपा पनि सकारात्मक रहेको राप्रपाका एक नेताले जानकारी दिए । उनका अनुसार एमालेसँग करिब १० सिट लिएर चुनावी तालमेल गर्न सकिने राप्रपाको प्रस्ताव रहेको छ । तर, अहिलेसम्म ठोस निर्णय भने भइनसकेको पनि ती नेताले बताए ।

राप्रपाका नेताको भनाइमा अहिले जसरी भए पनि राष्ट्रिय मान्यताप्राप्त दल बन्ने राप्रपाको रणनीति छ । सोही कारण एमालेसँग तालमेल गरेर सिट बढाउने राप्रपाले रणनीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement