८ देशका लागि राजदूत नियुक्ती प्रक्रिया अघि बढ्यो, परराष्ट्रमा सचिव बन्न दौडधुप


काठमाडौं – सरकारले ८ देशका लागि राजदूत छनौट प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्रालयले लामो समयदेखि रिक्त रहेका देश र कार्यकाल सकिन लागेका देशमा नयाँ राजदूत पठाउनेबारे प्रक्रिया अगाडि बढाएको हो ।

हाल रिक्त रहेको दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकासहित अन्य पांच देशमा नयाँ राजदूत नियुक्ती प्रक्रिया अगाडि बढाएको हो । सरकारले अमेरिकामा एक वर्षअगाडि म्याद थपेर  अर्जुन कार्की राजदूत छन् ।परराष्ट्रमन्त्रालयबाट सहसचिवहरु तपस अधिकारी, निर्मल काफ्ले,गेहेन्द्रराज भण्डारी, जिवन श्रेष्ठ, रामकाजी खड्का राजदूतको दौडमा छन् । मुख्यसचिव लोकदर्शन रेग्मी पनि अमेरिकाको राजदूत हुने लविंगमा छन् ।

त्यस्तै चार महिनापछि थप चार देशका राजदूतको कार्यकाल सकिँदैछ । पाकिस्तान, बेलायत, जर्मनी र बेल्जियममा तीन र चार महिनापछि राजदूतहरुको कार्यकाल सकिँदैछ । जसअनुसार क्रमशः पाकिस्तानमा सेवा लम्साल, बेलायत दुर्गा बहादुर सुवेदी, जर्मनीका रमेश प्रसाद खनाल र बेल्जियम लोकबहादुर थापाको भदौ र असोजमा कार्यकाल सकिँदैछ ।

त्यस्तै परराष्ट्र सचिव शंकरदास बैरागीले पनि आगामी असोजबाट अवकाश पाउँदैछन् । बैरागीको ठाउँमा नयाँ सचिवका लागि दौडधुप सुरु भएको छ । सचिवका लागि भरतराज पौडेल, सेवा लम्साल र अमृत राईबीच प्रतिस्पर्धा छ । मुख्यसचिवमा  परराष्ट्र सचिव वैरागी र वनसचिव विश्वनाथ ओली मध्य एक जनालाई बनाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement