इजरायली दूतावासद्धारा नेपालका ३ अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण


काठमाण्डु – नेपालका लागि इजराईली दूतावासले काठमाण्डुका तीन अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

नेपाल स्थित विर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताललाई टम्बलर ड्रायर, एबीजी मोनिटर, बिरामी मोनिटर, एनेस्थेसिया भेन्टिलेटर, इलेक्ट्रो कार्डियोग्राफ, कोभिड–१९ लगायत अन्य स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो ।

अस्पतालको आवश्यकता एवं इजराईल सरकारको ऐक्यवद्धता स्वरुप स्वास्थ्य सेवा सुदृढ र सहज गर्न प्रदान स्वास्थ्य सामाग्रीहरु उपलब्ध गरिएको दूतावासले जनाएको छ । स्वास्थ्य उपकरण हस्तान्तरण समारोहमा वोल्दै इजराईली राजदूत हनान गोडरले नेपाल–इजराईल सम्बन्धको एउटा पाटो रहेको र यस किसिमको सहकार्यले कोभिड–१९ विरुद्ध लड्न साझा अवधारणा विकास गर्ने बताए ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले इजराईली दूतावासद्वारा प्रदान गरिएको उपकरणहरु विश्व समुदायबाट नेपाललाई दर्शाइएको सद्भावको अनुपम उदाहरण रहेको बताए । उनले ती उपकरणहरुले कोभिड–१९ विरुद्ध एकजुट भएर सामना गर्न थप बल पुगेको विश्वास व्यक्त गरे ।

विर अस्पतालका कन्सलटेन्ट हाडजोर्नी विषेशज्ञ डा. श्रृषि विष्टले यस महामारीको समयमा गरिएको सहयोग प्रति इजराईली जनतालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा वोल्दै धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले इजराईली दूतावास र धुलिखेल अस्पतालबिचको लामो सहकार्य मार्फत् धुलिखेल अस्पतालको समग्र स्वास्थ्य सेवा प्रवाहमा सुधार भएको र अहिले अस्पताललाई प्राप्त भएको उपकरणले अस्पतालको स्वच्छता एवं विरामीको स्यहारमा थप सुविधा प्राप्त भएको बताए ।

यसका लागि उनले राजदूत हनानगोडर लगायत समग्र दुतावासका कर्मचारी प्रति कृतज्ञता ज्ञापन गर्दै यस किसिमको सहयोग र सद्भाव सदैव प्राप्त हुने विश्वस व्यक्त गरे । दूतावासले यस प्रकारको सहायता नेपाल–इजराईल मित्रताको द्विपक्षीय सहकार्यको अभिव्यक्ति भएको हुदा इजराईली दूतावासले भविष्यमा पनि स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने अपेक्षा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement