नविकरणीय ऊर्जा दिवस सुरु : २५ देशका उर्जा विज्ञ काठमाडौँमा


काठमाडौँ– नविकरणीय ऊर्जा दिवसको अवसरमा काठमाडौंमा बिहीबारदेखि ‘पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रविधि सम्मेलन’ सुरु भएको छ । ‘प्रत्येक घर, ऊर्जा घर’ बनाउन आह्वान गर्दै अन्तराष्ट्रिय नविकरणीय ऊर्जा प्रविधि सम्मेलन सुरु गरिएको हो ।

सम्मेलनको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नविकरणीय ऊर्जामा आधारित कृषि प्रणाली अवलम्बनमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन युवा जनशक्तिलाई परिचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।

मन्त्री पोखरेलले विश्वविद्यालयबाट स्नातक गरेकाहरूलाई रोजगारी दिने घोषणा गरेका छन्। उनले स्नातक गरेकाहरूलाई रोजगारी दिन सम्बन्धित विश्वविद्यालयहरूलाई ध्यान दिन पनि सचेत गराएका थिए।

जर्मनी, संयुक्त अधिराज्य, भारत, बंगलादेश, पाकिस्तान, चीन तथा अमेरिकासहित ६ महादेशका २५ मुलुकका ३०० प्रतिनिधिको सहभागिता रहेको आयोजकले बताएको छ । सम्मेलनमा हावा, बायोग्यास, सोलारजस्ता विभिन्न ऊर्जाको कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

नेपालमा नवीकरणीय ऊर्जाको खपत ४ प्रतिशत भन्दा कम रहेको र यो खपतलाई बढाएर ग्यास तथा बिजुली तथा दाउराको खपत कम गरी ऊर्जा संकट समाधान गर्न महत्वपूर्ण सुझाव दिने अपेक्षा गरिएको छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघका कार्यकारी निर्देशक पूर्ण रन्जितकारले युरोप तथा चीन नवीकरणीय ऊर्जाको प्रयोगमा निक्कै अगाडि बढिसकेको तथा जापान र भारतपनि यसतर्फ अघि बढ्दै गएको परिस्थितिमा नेपालमा नवीकरणीय ऊर्जाको प्रयोगको संभावनाको बारेमा छलफल हुनु सकारात्मक पक्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement