ऊर्जामन्त्री पुनद्वारा माथिल्लो त्रिशुली थ्री बी को जलविद्युत् शिलान्यास


नुवाकोट – माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आइतबार नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समय २०७७ फागुनमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताए । “विदेशमा बिक्रीका लागि होइन, हामी आफ्नै लागि अबको केही वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्छ । हिउँदमा १० हजार मेगावाट उत्पादन हुन कम्तीमा पनि १५ हजार मेगावाट उत्पादन हुने आयोजना चाहिन्छ”, उनले भने ।


मन्त्री पुनले अहिले ‘रन अफ रिभर’ ९बहाव०मा आधारित धेरै आयोजना भएकाले सरकारले अब जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको बताए । उनले जलविद्युत्मा नागरिकको लगानीको अवसर प्रदान गर्न ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको कार्यान्वयन गरिरहेको समेत बताए ।

मन्त्री पुनले जलविद्युत्मा आत्मनिर्भर भएमा देशले भोगिरहेको व्यापार घाटासमेत घट्ने र सरकारले लिएको दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्यलाई हासिल गर्न समेत सहयोग पुग्ने बताए । कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजनालाई समयमा नै सम्पन्न गराउन स्थानीयवासीको सहकार्य र भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्री बी निर्धा्रित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए । उनले आयोजना तोकिएको समयभन्दा अगाडि निर्माण सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताए ।

कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडाले स्थानीयवासीले विद्युत् उत्पादनका लागि आफ्ना उत्पादनमूलक जग्गा जमीन प्रदान गरेकाले स्थानीयवासीको योगदानको बेवास्ता नगर्न आयोजनालाई आग्रह गरे। इञ्जिनीयरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङसँग २९ माघ २०७४ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको ढाँचा, निर्माण तथा जडान गर्नेछ ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए को क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement