ईपिजी बैठक नयाँदिल्लीमा शुरु हुँदै, प्रतिवेदनमा उल्लेख गरिने बिषयको अन्तिम टुङ्गो लगाउने


काठमाडौं– नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह (ईपिजी) को आठौं बैठक बिहिबारबाट नयाँदिल्लीमा  शुरु हुँदैछ । बैठकमा सहभागि हुन नेपाली टोली बुधवार नै दिल्ली पुगेको छ । बिहीबार र शुक्रबार हुने समुहको बैठक अन्तिम बैठक हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा प्रतिवेदनमा उल्लेख गरिने बिषयको अन्तिम टुङ्गो लगाउने बताइएको छ । ईपिजी प्रतिवेदन लेखनको अन्तिम चरणमा पुगेको छ । यसअघि गएको फागुन १३ र १४ गते काठमाडौंमा बसेको बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई मुलुकबीच विश्वासको वातावरण निर्माण भएकाले प्रतिवेदन तयार गर्न इपिजीलाई थप सहज भएको सदस्य डा.राजन भट्टराईले बताए । नेपाल भारतबीचका सबै खाले सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको म्याद आगामी असार २० गते सकिँदैछ ।

चार चार सदस्यीय समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement