स्थानीय तहले फिर्ता पठाएका कर्मचारी विरोधमा

स्थानीय तहले फिर्ता पठाएका कर्मचारी विरोधमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय तहले हाजिरी नगराई फिर्ता पठाएका कर्मचारी विरोधमा उत्रिएका छन् । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जम्मा भएर उनीहरूले विरोध जनाएका हुन् । स्थानीय तहले फिर्ता पठाएपछि ती कर्मचारीले मन्त्रालयमै हाजिरी गरी तलब बुझ्दै आएका थिए ।

मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार झन्डै ५० जनाको संख्यामा यस्ता कर्मचारी रहेका छन् । बरालले भने्, ‘यीबाहेकका केहीलाई भने मन्त्रालयले वैकल्पिक व्यवस्था गरेको छ, केही भने समायोजन भएका स्थानमै हाजिरी हुन थालेका छन् ।’ बाँकी कर्मचारीको समस्यासमेत छिट्टै समाधान हुने मन्त्रालयको विश्वास छ । मन्त्रालयले फिर्ता पठाउने स्थानीय तहलाई निर्देशनसहितको परिपत्र गरेको छ ।

विभिन्न स्थानीय तहमा समायोजन भई गएका कर्मचारी आवश्यक नरहेको भन्दै फिर्ता पठाएका थिए । यसरी फिर्ता भएका सयौंको संख्यामा रहेका कर्मचारीलाई मन्त्रालयले नै हाजिरीको व्यवस्था मिलाएको थियो ।

मन्त्रालयले आवश्यक स्थानमा खटाउने तयारी थालेको थियो । यससँगै सरकारले नै सुरु गरेको समायोजनको भावनाविपरीत हुने भन्दै कर्मचारी विरोधमा उत्रिएका बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ अनुसार रितपूर्वक संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाउन पाइँदैन ।

ऐनमा समायोजन भएको २१ दिनभित्र हाजिर भइसक्नुपर्ने व्यवस्था छ । उनीहरूलाई सम्बन्धित तहका प्रमुख प्रशासकीय अधिकृतले हाजिरीको व्यवस्था मिलाउनुपर्ने हुन्छ । तर, स्थानीय तहले सरकारले आफूखुसी कर्मचारी पठाएको, विषयगत र प्राविधिक कर्मचारीे नपठाएको भन्दै फिर्ता पठाएको बताएका छन् ।