‘इयूको निर्वाचन प्रतिवेदन’ मैले बुझेको भन्ने हल्ला गलत हाे : सभामुख महारा


काठमाडाैँ – संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बारेमा तयार पारेको प्रतिवेदन आफुले बुझेको भनेर सामाजिक सञ्जालहरुमा भइरहेको बहस र विवादका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीले परराष्ट्र मन्त्रालयमार्फत् सभामुखसँग भेटवार्ताका लागि गरेको अनुरोध अनुसार चैत्र ५ गते (मार्च २०) मा सभामुखले संसद सचिवालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटमा इयूको टोलीले आफूले तयार पारेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन ‘भोलि (चैत्र ६ गते÷मार्च २१) सार्वजनिक गर्दैछौं, अध्ययनका लागि सभामुखलाई एकप्रति प्रदान गर्छौं’ भनेपछि उनले उक्त प्रतिवेदन लिएको सभामुखका सभामुखका प्रेस विज्ञ डिल्ली मल्ले जानकारी दिएका छन् ।

सभामुखले उक्त प्रतिवेदनमा के छ भनेर सोध्दा इयू मिसन टोलीले ‘२९ बुँदे सुझावसहित समग्र रिपोर्ट पेश गरेका छौं’ भनेर जवाफ दिएको थियो । छलफलका क्रममा हाल उठिरहेको प्रतिवेदनसम्बन्धी विवादको विषयमा सभामुखको प्रतिनिधि मण्डलले आफ्नो मतसहित मिसन टोलीलाई प्रश्न उठाएको थियो ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले सामाजिक सञ्जालहरुमा सरकारले अस्विकार गरेको प्रतिवेदन सभामुखले किन बुझेको भनेर बहस भइरहेको छ, त्यो सरासर गलत छ । अध्ययनको लागि इयूको टोलीले सभामुखलाई दिएको उक्त प्रतिवेदन अहिले बुझेको नभई सरकारको धारणा आउनुअघि नै चैत्र ५ गते नै शिष्टाचार भेटवार्ताको क्रममा अध्ययनका लागि लिइएको हो । सरकारले अस्विकार गरिसकेपछि सभामुखज्यूले बुझेको भन्ने कुरा सरासर गलत हो । प्रतिवेदनबारे नेपाल सरकारको धारणासँग सभामुखको धारणा बाझिएको छैन् ।’

उसो त इयू मिसन टोलीसँग भेटवार्ता भएकै दिन चैत्र ५ गते अनलाइन न्यूज पोर्टलहरु र ६ गतेका दैनिक पत्रिकाहरुमा सभामुख र इयू टोलीको भेटघाटको समाचार आइसकेको थियो । समाचारमा प्रष्टसँग ‘इयू टोलीले सभामुखसँग शिष्टाचार भेटघाट गरेको र भोलि (चैत्र ६) गते पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्ने’ उल्लेख गरिएको छ ।

त्यसैले, सामाजिक सञ्जालमा भइरहेको आरोपजस्तोसरकारले अस्वीकार गर्दागर्दै सभामुखले प्रतिवेदन बुझेको भन्ने कुरा साँचो नभएको मल्लले बताए । उनले यथार्थता बुझेर मात्रै सामाजिक सञ्जालहरुमा आफ्ना विचार, धारणाहरु सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement