काठमाण्डु ६ मा सदाबहार प्रधानलाई सर्वेन्द्रले देलान टक्कर ?


काठमाण्डु – काठमाण्डुको क्षेत्र नम्बर ६ मा यसपटकको निर्वाचन रोचक हुने भएको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा प्रतिनिधिसभातर्फ पूर्व रक्षामन्त्री र नेपाल प्रहरीका पूर्वआइजीपीबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान र नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बनेका छन् । प्रधान पूर्वरक्षामन्त्री हुन् भने खनाल पूर्व आइजीपी हुन् । नेता प्रधान चौथोपटक चुनावी मैदानमा छन् । तर, प्रहरीको जागिरबाट अवकाश पाएका खनाल पहिलो पटक संसदीय चुनाव लड्दैछन् ।

उनी ६ असोजमा मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । प्रधान ०६४ देखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । ०६४ को संविधानसभा सदस्य निर्वाचनमा माओवादी नेता हितमान शाक्यसँग पराजित भएका उनले ०७० मा नेकपा एमालेका नेता योगेश भट्टराईलाई पराजित गरेका थिए ।

०७४ मा एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पनि प्रधान नै विजयी भएका थिए । यसपटकको निर्वाचन भने नेकपा माओवादीकाे समर्थनमा उनी मैदानमा उत्रिएका छन । त्यसैले उक्त क्षेत्रमा आफ्नो जित सुनिश्चित रहेको प्रधान बताउँछन् ।

यो क्षेत्रमा काठमाण्डु महानगरपालिकाका तीन वडा (२६, २७ र २८), तारकेश्वर नगरपालिकाका आठ (१, २, ६, ७, ८, ९, १० र ११) तथा टोखा नगरपालिकाका पाँच (१, ८, ९, १० र ११) वडाहरू छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाण्डु महानगरका तीनै वडा नेपाली कांग्रेसले जितेको थियो । त्यस्तै, तारकेश्वरका आठमध्ये ६ वटा कांग्रेसले जितेको थियो भने दुई वडामा नेकपा एमालेले जितेको थियो ।

टोखाका पाँचमध्ये चार वडा एमालेले जितेको थियो भने कांग्रेस एउटा वडामा खुम्चिएको थियो । वडाध्यक्षले पाएको मतको आधारमा यहाँ कांग्रेसले १७ हजार २७७, माओवादीले २ हजार ४६२ र नेकपा एकीकृत समाजवादीले एक हजार ८५९ गरी गठबन्धनको पक्षमा २० हजार ५८९ मत छ भने एमालेले १४ हजार ३०३ मत पाएको थियो ।

कांग्रेस आफ्नो पुरानो सांगठनिक पकड र गठबन्धनको बलमा चुनावी परिणाम ल्याउने दाउमा छ भने एमालेले खनालको नाममा आउने लोकप्रिय मतले जित दिलाउनेमा आशावादी देखिन्छ । यस क्षेत्रबाट १३ राजनीतिक दलका उम्मेदवार र ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement