काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाण्डुको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एण्ड एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७–२१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालले बताए । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रूपमा यस वर्ष सफ्टवेयर एण्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सबैभन्दा महत्त्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरूको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।
चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यसपटक आईटी उत्पादनहरूलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
विगतझै यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ता कपडाका सामानहरू, अटोमोबाइल, इलेक्ट्रोनिक, होमएप्लिकेसन, लजिस्टिकस्, टेक्स्टाइल, फर्निचर, गार्मेन्टस्, लेदर गूड्स्, जोइलर्स, कस्मेटिक्स, फूड एण्ड डेरी प्रोडक्सट्स् आदि सामग्रीको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रदर्शनी र व्यावसायीले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वर्ल्ड लिंक तथा एजुकेसन पार्टनरका रूपमा सफ्टवेरिका कलेज, सनवे कलेज छन् । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको मेलाका संयोजक राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।
प्रतिक्रिया