धनगढी– काठमाण्डुमा नेपाल प्रिमियर लिग (एनपीएल)को रौनक छाइरहँदा उता धनगढीस्थित सरकारको ड्रिम प्रोजेक्ट ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ भने लगानी र निर्माणको प्रतीक्षामा छ ।
५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित बहुउद्देश्यीय खेलग्राम निर्माण गर्ने योजना बने पनि आयोजनाले अझै निर्माणको गति लिन सकेको छैन ।
करिब एक दशकदेखि चर्चामा रहेको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत स्वीकृत भइसकेको छ । तर, आवश्यक बजेट र लगानीको सुनिश्चितता नहुँदा निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।

२०७३ सालमा देशमै पहिलोपटक फाप्ला मैदानमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग भएको थियो । धनगढी उपमहानगरपालिका–३ स्थित ३८ बिघा क्षेत्रफलमा फैलिने आयोजनाको कुल लागत २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । पहिलो चरणमा ११ अर्ब रुपैयाँ खर्च गर्ने योजना छ । यस चरणमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गरिनेछ, जसका लागि मात्रै करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
राष्ट्रियस्तरका प्रतियोगिता र फ्रेन्चाइज लिगको लहर चलिरहँदा मोफसलमा क्रिकेटको विकास र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बोकेको यस्तो महत्त्वाकांक्षी आयोजना भने वर्षौंदेखि प्रतीक्षामै छ ।

मन्त्री बनेपछि निरीक्षणमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पनि निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत फाप्ला रंगशालाको डिजाइन पुनरावलोकन र लगानीको मोडालिटी तयार गर्ने घोषणा गरेका थिए । तर, कागजी तयारी र सरकारी प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसक्दा फाप्लाको सपना अझै अधुरै छ ।




प्रतिक्रिया