द्रुत मार्गमा अनियमितता : तत्कालीन आयोजना प्रमुख र वर्तमान प्रमुख छानबिनमा


काठमाडौं – काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को परामर्शदाता कम्पनी छनोटमा अनियमितता भएको आशंकामा नेपाली सेनाले तत्कालीन आयोजना प्रमुखदेखि वर्तमान आयोजना प्रमुखसम्मलाई छानबिनमा तानेको छ ।

dish home

डीपीआर तयार नहुँदै द्रुतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आयोजनाको परामर्शदाता कम्पनी छनोटका विषयमा उजुरी आएपछि तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड र वर्तमान प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको बताए ।

‘आयोजनाको परामर्शदाता कम्पनी छनोटका विषयमा उजुरी आएपछि तत्कालीन आयोजना प्रमुख खाँड र वर्तमान प्रमुख श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको छ, दोषी देखिए कारबाही हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने ।

अनियमितताको उजुरीपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले छानबिन गर्न बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा छानबिन समिति बनाएका छन् । यस्तै, आयोजना प्रमुखको जिम्मेवारी हाल महासेनानी विकास पोखरेललाई दिइएको छ । आयोजनामा खाँड प्रमुखको जिम्मेवारीमा रहँदा परामर्शदाता कम्पनी छनोट भएकाले सो बखत श्रेष्ठ इन्जिनियरिङ विभागको प्रमुख रहेको र उनको समेत संलग्नता रहेको आशंका उजुरीमा परेपछि हाल आयोजना प्रमुख रहेका उनलाई तत्कालका लागि सेनाले जिम्मेवारीबाट हटाएको हो । श्रेष्ठले गत साउनमा जिम्मेवारी पाएका थिए ।

प्रवक्ता पाण्डेले उजुरीपछि छानबिनको निष्कर्ष नआउँदासम्म जिम्मेवारीमा राख्नु जायज नभएकाले छानबिन अवधिसम्मका लागि जिम्मेवारीबाट हटाइएको र दोषी देखिए कारबाही हुने नभए पुनः जिम्मेवारीमा नै फर्किन सक्ने बताए । श्रेष्ठलाई एक महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो ।याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस