छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेदेखि हुँदै

छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेदेखि हुँदै


काठमाण्डु – छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेदेखि काठमाण्डुमा सुरु हुँदैछ ।

चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म ३ दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघु चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन हुँदैछन् ।

सबै चलचित्रहरू निःशुल्क हेर्न पाइने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राइजिङ मलको क्यूएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघु चलचित्र पाउलो प्रदर्शन गरिनेछ ।

राइजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरू प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरू प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् ।

महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरू प्रदर्शन हुनेछन् । विभिन्न विधाका छोटा चलचित्रहरूमा द स्कूल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेस होल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघु चलचित्र र डकुमेन्ट्रीहरू समावेश गरिएको छ ।

झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जन बढी अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरू र कला प्रदर्शनी समेत रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचिकर्मीको उपस्थिति रहनेछ ।

महोत्सवमा ८ जना अन्तर्राष्ट्रिय र ८ जना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।

नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवं निर्देशक रौनकविक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन छन् ।

मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि हरेक वर्ष अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरू आफैंले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरू गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरू आयोजना हुँदै गर्दा सम्बन्धित निकायबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे ।

युनेस्कोको कार्यक्रमअन्तर्गत काठमाण्डु महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदा समेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाण्डुमा ४७ देशका चलचित्रहरू समावेश गरेर महोत्सव गर्न पाउँदा आफूलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघु चलचित्र मात्र नभएर उत्कृष्ट महिला चलचित्र, बालबालिका चलचित्र, सांस्कृतिक चलचित्र, एनिमेटेड चलचित्र, मानव अधिकार चलचित्र, डकुमेन्ट्री लगायत धेरै विधाहरू भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण चलचित्र महोत्सव अझ बढी महत्त्वपूर्ण रहेको उनले बताए । नेपालमा विधा अनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बने पनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरू उत्कृष्ट बन्दा पनि तिनिहरूले स्थान पाउँदैनन्, पाइहाले पनि प्रतिस्पर्धामा पछाडि नै राखिन्छ तर महोत्सवले सबैलाई समेट्न सकेको उनको दाबी छ ।

महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार लगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको मूल्यांकनको आधारमा फरक–फरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ ।