फिटनेश : जिममा युवतीको आकर्षण बढ्दो, महिलालाई प्रशिक्षकको ‘व्यायाम टिप्स’


काठमाडौं– जिममा युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ। विशेषगरी जाडोभन्दा गर्मीयाममा जिम जाने बढी हुन्छन्। कारण– जाडो महिनाको तुलनामा गर्मीमा धेरै पसिना आउने र यसले शरीर स्वस्थ्य बनाउने भएकाले गर्मी महिनामा युवायुवती जिममा बढी समय दिने गर्छन् । अझै जिममा पुरुषहरु मात्रै होइन अहिले महिलाहरु पनि आकर्षित हुँदै गएको देख्न सकिन्छ।

पाटन बस्ने २७ वर्षकी सलिना श्रेष्ठ गर्मी लागेसँगै फेरी जिम जान लागेको बताउँछिन्। उनले भनिन्, ‘गर्मी लाग्यो अब फेरी जिम ज्वाइन गरेकी छु। धेरै पशिना आउने हुँदा जिमको पनि धेरै फाइदा लिन सकिन्छ। ’

उनी जाडोमा धेरै अल्छि लाग्ने भएकाले गर्मी महिना नै जिम गर्न बढी उपयुक्त हुने अनुभव सुनाउँछिन्। जिम केटाले मात्रै गर्छन् भन्ने मान्यता पुरानो भएको भन्दै उनी भन्छिन्, ‘केटीहरु पनि स्वस्थ्य र आर्कषक शरीरको लागि जिम जान्छन् र जिम हाउसमा केटीको लागि पनि राम्रो वातावरण बन्दै गरेको छ। ’

राजधानीमा फिटनेश क्लब पनि प्रसस्तै खुलेका छन् । विभिन्न उद्देश्य लिएर जिम गर्ने जमात अहिले राजधानीमा बढेको छ । सलिना मात्रै होइन अहिलेउनी जस्ता धेरै युवतीहरु शरीर बनाउन जिम धाउने गरेका छन् ।

कुमारीपाटी फिटनेश सेन्टर, कुमारीपाटीका जिम प्रशिक्षक यसोज अवालेका अनुसार पछिल्लो समय जिममा व्यायम गर्ने युवतीको संख्या ह्वात्तै बढेको छ । उनले भने, ‘जिम गर्न आउने युवतीको संख्या पहिलाको भन्दा अहिले बढ्दै गएको छ । ’

अहिले दैनिक ३० देखि ४० महिलालाई जिम सिकाउने गरेको उनले बताए । जिममा युवतीलाई आर्कषण गर्न जिम हाउसले धेरै मिहेनत गर्दै आएको प्रशिक्षक अवाले बताउँछन् । उनका अनुसार जिममा युवतीलाई प्रशिक्षकले गर्ने व्यवहार, भौतिक सुविधा, आर्थिक अवस्था र जिमको वातावरण मुख्य हो । महिला पुरुषलाई बरावर सोच्दै उनीहरुको आत्मसम्मान र सुरक्षामा विषेश ध्यान दिनुपर्ने उनले बताए ।

उनले आफ्नो जिम हाउस महिलामैत्री वातावरण बनाउँदै आएको बताए । उनले भने, ‘महिलाहरुलाई जिम सिकाउँदा गरिने व्यवहार नै बढी महत्वपुर्ण हुन्छ । जति बढी उनीहरु सुरक्षित महसुस गर्छन् त्यति उनीहरु जिममा आर्कषित हुन्छ ।’

स्वास्थ्य रहन जिममा आउनु धेरै फाइदा भएको र यसले दीर्घकालिन रुपमा मासिनलाई स्वस्थ्य राख्ने भएकाले प्रशिक्षक अवाले जिममा दैनिक २ घण्टा समय खर्चिन सबैलाई आग्रह गर्छन् ।

प्रशिक्षक अवालेका महिलालाई जिम टिप्सः

· हप्तको ५ देखि ६ दिन नियमित रुपमा व्यायम गर्नुपर्छ ।

· प्रशिक्षकको कुरा सुनेर, हेरेर सही ढंगबाट गर्नुपर्छ ।

· शरीरको कुन भागलाई घटाउने वा बढाउने त्यही अनुसार छुट्टा छुट्टै अंगको व्यायम गर्नुपर्छ ।

· शरीरको तौल हेरेर जिममा रहेका मेसिनका तौल उठाउने गर्नुपर्छ । धेरै गर्न खोज्दा शरीरको भित्री भागमा चोट लागेर असर पनि गर्न सक्छ ।

· महिलालाई पेट घटाउन विषेश पर्ने भएकाले एव्समा धेरै व्यायम गर्नुपर्छ ।

· थोरै पानी पिउँदै जिम गर्नुपर्छ ।

· दिनभरीमा प्रसस्त पानी पिउनुपर्छ ।

· व्यायम गर्दा धेरै थाकिन्छ र शक्ति खर्च हुन्छ । त्यही अनुसारको प्रोटिन र मिनिरल्सको प्रयोग गर्नुपर्छ ।

· सन्तुलित भोजन नियमित गर्नुपर्छ ।

· जिम गरिरहेका महिलाले बढी चटपट,चिल्लो, पिरो, बोसोयुक्त खानलाई बन्देज गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement