काठमाण्डु – विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारीबिरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अखिल (क्रान्तिकारी) को काठमाण्डु बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलता पुर्वक सम्पन्न भएको समिक्षा गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।
जसअनुसार २४ असारमा देशव्यापी सिट्ठी जुलुश, २७ असारमा माईतिघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
‘संयुक्त विद्यार्थी संगठनले संसद विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा सञ्चालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी आन्दोलन विश्वस्त रहेको छ’ पाँच विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका कारण पठनपाठनमा गम्भीर असर पुगेको छ भने परीक्षाको तयारीमा रहेका लाखौं उम्मेदवार विद्यार्थी मर्कामा परेकाले शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ ।
बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेललगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया