काठमाण्डु – गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ ।
बाढीमा परी ५ जना स्थानीय सम्पर्कविहीन रहेकाले खोजी कार्य जारी रहेको छ ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, सडक तथा पुल पुन: सञ्चालन र पुनर्निर्माणका कामलाई तीव्रता दिएको जनाएको छ ।
आईतबार बिहान सिरिङ्गे हिमाल क्षेत्रमा गएको हिमपहिरोका कारण उइन्गुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको विवरणमा उल्लेख छ । बाढीले गोरखा र धादिङका २०० भन्दा बढी घरमा क्षति पुर्याउनुका साथै करिब डेढ सय चौँरीगाई तथा भेडाबाख्रा बगाएको जनाइएको छ ।
बाढीपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । बाढीको सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न करिब २ लाख जनालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो । प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक गरी अवस्थाको निरन्तर अनुगमन र उद्धार कार्य परिचालन गरेको विवरणमा उल्लेख छ ।
बाढीका कारण खानेपानी आयोजना, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालय लगायतका संरचनामा क्षति पुगेको छ । मनास्लु पदमार्ग र गोरखा तथा धादिङ जोड्ने मुख्य सडकका तीनवटा पक्की पुल र २ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको जनाइएको छ ।
विपद्पछिको प्रतिकार्य तथा राहत वितरणअन्तर्गत सोमबार काठमाडौंहँुदेखि हवाई मार्गबाट गोरखाको फिलिममा ४ हजार २७० किलोग्राम खाद्यान्न र १ हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक राहत सामग्री उपलब्ध गराउने काम अघि बढाइएको छ ।
आरुघाट र सल्यानटार जोड्ने पुल पुन: सञ्चालन गर्न हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर जडान कार्य तीव्र पारिएको छ । छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभानदेखि सल्लेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ ।
सरकारले दसैँअघि नै अवरुद्ध सबै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुन: सञ्चालन गर्न आवश्यक काम अघि बढाइएको विवरणमा उल्लेख छ ।



प्रतिक्रिया