बाढीपीडितलाई यसरी उद्धार गर्‍याे नेपाली सेनाले


काठमाडौं–नेपाली सेनाले बाढीपीडितलाई हेलिकोप्टरमार्फत् उद्धार गरेको छ।

विष्णुदल गण, धुलिखेलले बिहीबार काभ्रेको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको छ। उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका–६, रोशी खोलाको बीच ढुङ्गामा फसेका दुईजनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

यसैगरी, उद्धारकै क्रममा बिहीबार नै रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनारायण नगरपालिका–७ मा अविरल वर्षाका कारण घर भत्किन गई मृत्यु भएका तीनजनाको शव तथा घरका सामान बाहिर निकाल्ने कार्यमा सहयोग गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

त्यस्तै, कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सूर्यविनायक, नं। १ विपद् व्यवस्थापन गण, सुन्दरीजल र नं।१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे इलाकाबाट ३० जना र मध्यपुर ठिमीबाट २० जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ।

जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement