किन् जादैंछन् परराष्ट्रमन्त्री चीन ?


काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् । चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली एक महिनाभित्रै चीन भ्रमणमा जाने गरी दुवै देशको कूटनीतिक संयन्त्रमा छलफल भइरहेको छ । ज्ञवालीको भ्रमणमा कुनै ठोस सम्झौता हुने–नहुनेबारे अहिलेसम्म बेइजिङस्थित नेपाली दूतावास जानकार छैन । ‘परराष्ट्रमन्त्रीज्यू ३ देखि ८ वैशाखसम्म चीनको औपचारिक भ्रमणमा आउने तय भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका प्रवक्ता हरिश्चन्द्र घिमिरेले टेलिफोनमा  भने, ‘परराष्ट्रमन्त्रीज्यूको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर हुन्छ कि हुँदैन भन्ने जानकारी आइसकेको छैन । तर, उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी हुने प्रचलन नै हो, यसपटक पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली यसअघि ०७२ चैतमा चीन भ्रमणमा गएका थिए ।

ज्ञवालीले चीनसँग यसअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा चाँडै हस्ताक्षर हुने बताउँदै आएका छन् । बेइजिङमा परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी वाङ यीबीच ५ वैशाखमा औपचारिक वार्ता हुनेछ । सोही दिन परराष्ट्रमन्त्रीले चीनका एकजना शीर्ष नेतासँग भेटवार्ता गर्ने भनिएको छ, तर कोसँग भन्ने जानकारी चीनको विदेश मन्त्रालयले दिइसकेको छैन । ‘स्टेटलिडरसँग भेटवार्ता हुने भनिएको छ, तर कोसँग भन्ने जानकारी आइसकेको छैन,’ नेपाली दूतावासका प्रवक्ता घिमिरेले भने ।

परराष्ट्रमन्त्रीको भ्रमणटोलीमा मन्त्री हैसियतका राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयको चीन हेर्ने डिभिजन प्रमुख गणेशप्रसाद ढकाल, प्रमुख शिष्टाचार महापाल दीपक अधिकारी तथा अन्य मन्त्रालयका सहसचिव रहने बुझिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले ४ वैशाखमा नेपाली दूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा चिनियाँ बुद्धिजीवी, नेपालका लागि पूर्वराजदूत र पत्रकारसँग गोलमेच अन्तरक्रिया गर्ने पनि तय भएको छ । उनले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीतिबारे बोल्ने कार्यक्रम छ ।

 

उनले ७ वैशाखमा सिचुआन प्रान्तको छेन्दुस्थित सिचुआन विश्वविद्यालयमा सम्बोधन गर्नेछन् र ८ वैशाखमा स्वदेश फर्कनेछन् । ज्ञवालीले सन् २०१८ भित्रै नेपाल र चीनबाट शीर्ष नेताको भ्रमण हुने बताउँदै आएका छन् । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement