चिनियां नेतालाई परराष्ट्रमन्त्री खड्काले भने – ‘एक चीन सिद्धान्त’ भुलेका छैनौं


काठमाण्डु – चिनियां कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भइरहेको बेला दुवै नेताबीच बिहिबार भर्चुअल कुराकानी भएको हो ।

परराष्ट्रमन्त्रालयले यसलाई गोप्य राखेपनि चीनले भने आफ्नो पार्टीको वेभसाइटमा तस्विर र विवरण सार्वजनिक गरेको छ ।

सीपीसीका नवनियुक्त विदेश विभाग प्रमुख जियानचाओले यसअघि असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओली र असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग समेत छलफल गरेका थिए । उनले विहिवार कांग्रेस नेता समेत रहेका परराष्ट्रमन्त्री खड्कासंग छलफल गरेका हुन् ।

विदेश विभागका उपमन्त्री चेन झोउ समेत सहभागी भएको उक्त छलफलमा बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अघि बढाउन नेपालको शीर्ष तहबाट चीनसंग व्यक्त भएको प्रतिवद्धताबारे समेत उनले स्मरण गराएको स्रोत बताउंछ ।

नेपाली कांग्रेसको नेतृत्व र परराष्ट्रमन्त्री खड्का बीआरआई अघि बढाउन अनिच्छुक भएको आरोप लाग्दै आएको बेला चिनियां नेताले यो प्रश्न उठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

गत चैत दोस्रो साता चिनियां विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको बेला बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो । तर, खड्काकै अरुचीका कारण त्यसमा हस्ताक्षर नभएको हो । कांग्रेस नेतृत्वको सरकारले छिमेकी मुलुक चीनसंगको सम्बन्धलाई प्राथिमकतामा नराखेको भन्दै आलोचना समेत भइरहेको बेला दुवै पक्षबीच छलफलको सुरुवात भएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसंगै चीन असन्तुष्ट बनेको छ । पछिल्लो समय नेपालले हस्ताक्षर गरेको भनिएकोे स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) पछी चिनियां चांसो झन् बढेको जानकारहरु बताउंछन् । उसले नेपालका वामपन्थि शक्तिहरुको बीचमा एकता र सहकार्य हुनुपर्नेमा जोड दिंदै आएको छ ।

यसलाई कतिपयले नेपालको आन्तरिक मामिलामा चिनियां चासो बढको अर्थमा समेत लिने गरेका छन् । तर, वामपन्थि पार्टीहरुले भने भाइचारा सम्बन्ध स्वभाविक भएको भन्दै सदासयतालाई अन्यथा लिने नहुने बताउने गरेका छन् ।

चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुखले चिनियां राष्ट्रपति सी जिनफिङले २०१९ मा गरेको नेपाल भ्रमणले चीन–नेपाल मैत्री सहयोगको नयां अध्याय खुलेको उल्लेख गरे ।

उनले नेपाल र चीन मन मिल्ने साथी,विकासका लागि साझेदार र एक अर्काकाको सुख दुखमा साथ दिने असल मित्र भएको बताए । जियानचाओले आफ्नो पार्टीले नेपाली कांग्रेसलगायत नेपालका सम्पूर्ण राजनीतिक दलहरुसंग मैत्रीपूर्ण सम्बन्ध कामय गर्न खोजेको बताएका थिए ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता दुवै पक्षले सधैं एकअर्कालाई बुझ्ने र समर्थन गर्दै आएको उनको भनाई थियो ।

जियानचाओले यो वर्ष आयोजना हुने सीपीसीको २० औं राष्ट्रिय कांग्रेस चिनियां जनताका लागि निकै महत्वपूर्ण रहेको बताए । यसले विश्वमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । त्यसका साथै उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि सहकार्य आवश्यक रहेको बताए ।

जवाफमा कांग्रेस नेता समेत रहेका मन्त्री खड्काले सीपीसीलाई १०१ औं स्थापना दिवसको शुभकामना दिनुका साथै नेपालको आर्थिक विकास तथा कोरोना महामारीमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

उनले नेपाली कांग्रेसले चीनसंगको मित्रतालाई नयां उचाइमा लैजान चाहेको भन्दै ‘एक चीन सिद्धान्त’लाई दृढताका साथ पालना गर्ने बताए । खड्काले कांग्रेस स्वतन्त्र विदेश नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपालमार्फत चीन विरोधी गतिविधि गर्न नदिने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement