असार अन्तिम हप्ता गण्डकी कप महिला फूटबल हुने

असार अन्तिम हप्ता गण्डकी कप महिला फूटबल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा गण्डकी प्रदेश फूटबल संघको आयोजनामा आगामी असारको अन्तिम हप्ता गण्डकी कप महिला फूटबल प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय स्तरको महिला फूटबल प्रतियोगिताका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) ले समेत मिति दिएको छ ।

एन्फाले मंगलबार गण्डकी प्रदेश फूटबल संघको नाममा पत्र काट्दै असार २८ देखि साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्वीकृतसँगै गण्डकी प्रदेश फूटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ ।

प्रतियोगितामा कूल ८ टीमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागीय क्लब त्रिभुवन आर्मी र एपीएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् ।

‘एन्फाले डेट दिएपछि हामीले अब तयारी थालेका छौं । सोही मितिमा हामीले प्रतियोगिताको आयोजना गर्नेछौं,’ उनले भने, ‘हामीले ८ टीमको मात्र सहभागिता गराउने तयारीमा छौं । यसका लागि आर्मी र एपीएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टीम रहनेछ ।’

पोखरामा महिला फूटबलको गतिविधि नै न्युन छ । संघले महिला फूटबललाई प्राथमिकतामा राखेर महिला गोल्डकप फूटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले सुनाए । जुन गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक हुनेछ ।

महासचिव गुरुङले दीर्घकालीन सोच राखेर अब महिला फूटबलको विकासका लागि संघले पहिलो कदम चालेको सुनाए । उनका अनुसार संघले प्रदेशभित्र यस अघि प्रतियोगिताको आयोजना नगरेपनि विभिन्न खेलाडी, प्रशिक्षक तथा रेफ्री विकासका लागि तालिम, गोष्ठी तथा कोर्स सञ्चालन गर्दै आइरहेको थियो ।

‘हामीले महिला फूटबलको विकास गर्ने उद्देश्यका साथ पहिलोपटक महिला फूटबलको आयोजना गर्दैछौं । यसका लागि आवश्यक तयारीमा हामी जुटिरहेका छौं । अब त एन्फाले समेत डेट दिइसकेको छ,’ उनले भने, ‘यो गण्डकी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता हुनेमा आशावादी छौं । हामीलाई महिला फूटबलको विकासमा लागेन भनेर धेरै गुनासो पनि आउने गरेको सत्य हो र त्यहाँ कहीँ न कहीँ हामी चुकेकै थियौं तर हामीसँग पनि बजेट छैन, सबै सहयोगकै भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ तर यसपटक हामीले यो काम आटेका छौं ।’

उनका अनुसार गण्डकीमा महिला फूटबलको गतिविधि भएमा अहिलेका चर्चित विभागीय टीमलाई समेत टक्कर दिने बलियो टीम बन्नेछ । महिला फूटबललाई अघि बढाउनकै लागि बागमती गोल्डकपमा टीम लिएर गएको सुनाउँदै उनले गण्डकीका महिला खेलाडीलाई निरन्तर प्रशिक्षण दिन सकेमा अबका केही वर्षपछि उत्कृष्ट टीम बन्ने सुनाए ।

‘हामीले बागमतीमा भएको गोल्डकपका लागि टीम छनोट गर्दा खेलाडीको उपस्थिति पनि राम्रो थियो । त्यहाँ निकै राम्रो खेल खेल्ने खेलाडीहरूको पनि सहभागिता थियो । उनीहरूलाई निरन्तर प्रशिक्षण दिन सकेमा गण्डकीको महिला फूटबलले गति लिनेछ,’ उनले भने ।