युरोकप फुटबलः आज तीन खेल हुँदै


काठमाण्डु – युरोकप २०२० फुटबलमा आज तीन खेल हुँदैछन् । १६औं संस्करण अन्तर्गत भइरहेको युरोकपमा आज समूह ‘ए’का दुई तथा समूह ‘बी’का एक खेल हुँदैछन् ।

पहिलो खेलमा समूह ‘बी’को फिनल्याण्ड र रसिया भिड्नेछन् । साँझ पौने ७ बजे हुने खेलमा रसिया पहिलो जितको खोजीमा हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा हुनेछ । फिनल्याण्ड भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । समूह चरणको पहिलो खेलमा फिनल्यान्डले डेनमार्कलाई १–० ले हराएको थियो ।

उता रसिया भने पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । आजै हुने समूह ‘ए’को पहिलो खेलमा टर्की र वेल्स भिड्नेछन् । बाकुमा हुने खेल राति पौने १० बजे हुनेछ । आजको खेलमा टर्की र वेल्स पहिलो जितको खोजीमा मैदान उत्रिनेछन् । समूह चरणको पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

टर्की भने इटालीसँग ३–० ले पराजित भएको थियो । वेल्स १ अंकमा समूह चरणको तेस्रो स्थानमा छ भने अंकविहीन टर्की तालिकाको पुछारमा छ । मध्यराति हुने समूह ‘ए’को अर्को खेलमा इटाली र स्विट्जरल्याण्ड खेल्दै छन् । रोममा हुने खेलमा स्वीटरल्याण्ड घरेलु टोलीलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement