विश्वकप छनोटः नेपालले आज अष्ट्रेलियासँग खेल्ने


काठमाण्डु – विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको नेपालका लागि यो अन्तिम खेल रहेको छ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जवर्डनसंग ३–० ले पराजित भएको थियो ।

यसअघि पाँचपटक विश्वकप खेलिसकेको अस्ट्रेलिया छैटौँपटक खेल्ने तयारीमा रहेको टोली हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि पछिल्लो चार विश्वकपमा लगातार सहभागी हुँदै आइरहेको अस्ट्रेलिया लगातार पाँचौँपटक खेल्ने तयारीमा छ ।

शुक्रबार नेपाललाई पराजित गरे अस्टे«लिया अर्काे वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ । फिफा वरीयतामा आफूभन्दा १३० स्थान माथि रहेको अस्ट्रेलियासँगको खेलबाट नेपालले भने धेरै अपेक्षा गरेको छैन । नेपाल त्यसै पनि विश्वकप छनोटको प्रतिस्पर्धाबाट बाहिरिसकेको छ ।

नेपालले यसै प्रतिस्पर्धाबाट सन् २०२३ मा चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणमा पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।

यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ ।

समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ । नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement