परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारतीय रक्षामन्त्रीले भनेः नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । नेपाल मामिलाका विज्ञसमेत रहेका रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटबारे सामाविक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनले भारत–नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताएका छन् । सिंहले ट्विटरमा लेखेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ ।’

उनीहरुको भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य समेत उपस्थित थिए । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् ।

मन्त्री ज्ञवाली नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेका थिए । उनी आज साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement