प्रधानमन्त्रीले माओवादी मन्त्री हटाए त्यसको हामी कडा प्रतिवाद गर्छौः माओवादी नेता शक्ति वस्नेत


माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल हुदै पार्टी एकता हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा माथि माओवादी केन्द्रका मन्त्रीहरुलाई राजिनामा गराउनु पर्ने वा बर्खास्त गर्ने दवाव पार्टी भित्रैबाट परेको छ । विपक्षमा रहेको राप्रपाले सोमबार अकस्मात सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि राजनीतिक बृत्तमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीलाई राजिनामा गरिदिन आग्रह गरिसकेका छन् ।

यदि माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरिए माओवादी केन्द्र र एमाले मिलेर सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अनुमान पनि गरिएको छ । यसैविषयमा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता एवंम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतसंग गरेको छोटो कुराकानी यस्तो छ –

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई हटाउने तयारी गुर्नभएको समाचार समार्वजनिक भएको छ । त्यो अवस्थामा माओवादी केन्द्रले के निर्णय लिन्छ ?

माओवादी केन्द्रलाई सरकारबाट हटाउनु पर्यो भन्ने दवाव नेपाली कांग्रेस भित्रबाट सुरु भएको भन्ने कुरा सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासंग यस विषयमा चासो राख्नु भएको रहेछ । अध्यक्षले हामीलाई बताउनु भए अनुसार प्रधानमन्त्री देउवा त्यो विन्दूमा पुगिसक्नु भएको छैन । सम्भवतः देउवाले त्यस्तो कदम चाल्नु हुने पनि छैन ।

 

 

राप्रपाले सरकारलाई साथ दिने निर्णय गरेपछि माओवादी केन्द्रका मन्त्री हटाउन प्रधानमन्त्री देउवालाई गाह्रो छैन, मन्त्री हटाए माओवादीको आगामी कदम कस्तो हुन्छ ?

हाम्रो प्राथमिकता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हो । चुनाव गर्ने शर्तमा त्यसो गर्छन, भने हामीलाई त्यसले केही असर गर्दैन । तर चुनाव टार्नका लागि त्यसो गरे भने चाहि त्यसको राजनीतिक प्रतिवाद हुन्छ । त्यो स्थितिमा प्रधानमन्त्री देउवाले चुनौती मोल्नुपर्नेछ ।

 

 

 

माओवादी केन्द्र एमाले संग मिलेपछि आशंकाको स्थिति बनेको होइन र ?

राजनीतिमा यस्ता गठबन्धन भइरहन्छन् । हिजोपनि हामी सँगै सरकारमा थियौं । तर रोल्पा, रुकुम, कालिकोट, सल्यान लगायतका जिल्लामा कांग्रेस र एमाले मिलेर हामी विरुद्ध स्थानीय तहको चुनाव लडे । हामीले त्यसलाई स्वभाविक रुपमा लियौ । अहिलेको वामपन्थी गठबन्धनलाई पनि कांग्रेसले त्यसैगरी स्वभाविक रुपमा लिनुपर्छ ।

 

 

 

एमालेसंग मिल्ने भएपछि कांग्रेस नेतृत्वको सरकारमा बसिरहन नैतिक रुपमा मिल्छ र ?

चुनाव गराउनकै लागि भनेर यो सरकार बनेको हो । त्यसैले यो चुनावी सरकार हो । चुनावी सरकार त अझ बृहद हुनुपर्छ, अहिले त हामीमात्र छौ । जहासम्म प्रतिपक्षी एमालेसंग मिलेको भन्ने कुरा हो, सरकारमा हुनु र तालमेल हुनु फरक फरक कुरा हुन ।

 

हिजो राप्रपा एक हुदा समेत एउटा पक्ष सरकारमा थियो, अर्को सरकार बाहिर । अहिलेको स्थिति पनि त्यही हो । हामी सरकारमा छौ, एमाले बाहिर छ । अझ हामी त तालमेलको क्रममा मात्रै छौ । हामी अलग पार्टीका रुपमा छौ अहिलेसम्म ।

 

नेपाल खवरबाट

प्रतिक्रिया दिनुहोस
Advertisement