सातै प्रदेशमा फोर जी सेवा शुभारम्भ, ‘सुखी नेपाली र समृद्ध नेपालको’ लक्ष्य प्राप्तीमा टेवा पुग्ने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य समारोहका बीच बुधबार ३६ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक सुरुवात गरेका हुन् ।

उद्घाटनका क्रममा प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीबीच फोर जी प्रयोग गरेर भिडियो कन्फरेन्स गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले निकै ठूलो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरे ।

नेपाल टेलीकमको फोर जी सुभारम्भ कार्यक्रममा बोल्दै सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिलेको सरकारले अगाडी सारेको नारा ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य प्राप्तीमा टेवा पुग्ने समेत बताए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक तिब्र गतीमा अगाडी बढेको दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी दिन प्रतिदिन नयाँ नयाँ काम गरेर इतिहासकै उल्लेखीय काम गरेका छौं । यस नेपाल टेलीकमको फोर जी सेवा त्यस्ता काम मध्यको एक हो ।’

फोर जी इन्टरनेटको यसको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुनेछ ।

विस्तारित फोरजीरएलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ।  फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । अब टेलिकमका ग्राहकहरुले जम्मा २५ रुपैयाँमा ४०० एमबी डाटा पाउने छन् । यसअघि टेलिकमले २५ रुपैयाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो ।

यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ । यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ ।

यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement