‘अकस’ परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्– अस्ट्रेलियाले धोका दियो


एजेन्सी – अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।

केही दिनअघि अस्ट्रेलियालाई उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने बारेमा अमेरिका, वेलायत र अस्ट्रेलियाबीच एउटा आणविक सम्झौता भएको थियो । अकस नाम दिइएको सो सम्झौतापछि फ्रान्स तीन ओटै देशसँग क्रुद्ध छ ।

यसअघि अस्ट्रेलियाले पनडुब्बी निर्माणका लागि फ्रान्ससँग अर्बौं डलरको सम्झौता गरेको थियो । तर, पूर्ववत सम्झौतालाई बेवास्ता गरेर उसले अमेरिका र वेलायतसँग नयाँ सम्झौता गरेपछि फ्रान्स अन्य देशसँग रिसाएको हो ।

अमेरिका र वेलायतसँग सम्झौता गर्नुभन्दा केही घन्टाअघि मात्र अस्ट्रेलियाले पेरिससँगको सम्झौताबाट हात झिकेको घोषणा गरेको थियो । दक्षिण चीन सागरमा बेइजिङको प्रभाव रोक्न तीन देशबीच सो सम्झौता भएको थियो ।

विदेशमन्त्री ड्रायनले तीन देशको पछिल्लो कदमले गम्भिर संकट निम्त्याएको बताए । यसअघि विवाद बढेपछि फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना दूत फिर्ता बोलाएको थियो ।

अवस्था पुनःमुल्यांकन गर्न आफ्ना दूतहरु फिर्ता गरेको उनले बताए । वेलायत ‘निरन्तर अवसरवादी ’ भएकोले त्यहाँबाट आफ्ना दूत फर्काइरहन आवश्यक नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement