काटमाण्डु – फ्रान्सको राजधानी पेरिससहित अन्य शहरहरुमा विद्यालयका समस्या र बढ्दो महँगीविरुद्ध देशव्यापी प्रदर्शन जारी छ । शनिवार भएको प्रदर्शनका क्रममा देशभर हिंसात्मक घटना भएका थिए ।
त्यसदिन करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए भने प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन्। सरकारले प्रदर्शनका क्रममा भएको घटना हिंसामा परिणत भएको बताएको छ ।
राजधानी पेरिसमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच व्यापक झडप भएको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
विरोध प्रदर्शनहरू दङ्गा र लुटपाटमा परिणत भएपछि थुप्रै कार पसलहरूमा आगजनी पनि भएको छ । पेरिससहित देशका अन्य क्षेत्रका भवनहरूमा आगजनी गरिएको छ। लिमोज सहरको नगरपालिका भवनमा लागेको ठूलो आगोका कारण छानाको केही भाग भत्किएको छ।
देशका विभिन्न सहरमा लुटपाटका घटना पनि भएका छन्। त्यस्तै, नगरपालिकाका भवन र व्यापारिक प्रतिष्ठानहरूलाई लक्षित गरी व्यापक तोडफोड भएका छन्।
लियोँका मेयर ग्रेगोरी डुसेले सहरको पर्यटक सूचना केन्द्रमा आगजनी हुनुलाई ुदुःखद घटनाु भनेका छन्। त्यस्तै, दक्षिणपूर्वी सहर सेन्ट(एटिएनमा ग्रिनेड विस्फोट हुँदा एक युवकको हात गुमेको मेयर रेगिस जुआनिकोले सामाजिक सञ्जालमार्फत बताएका छन्।
फ्रान्सको आन्तरिक मामिला मन्त्रालयका अनुसार राजधानी पेरिसका केही भागसहित कतिपय सहरमा मुख छोपेका व्यक्तिहरूले लक्षित रूपमा हिंसात्मक गतिविधिु गरेका हुन्।
ग्रेनोबल, अभिन्योँ, पो, मोँपेलिए र भालेन्सलगायत फ्रान्सका विभिन्न सहरमा पनि भवनहरूमा क्षति पुगेको विवरण छ।
फ्रान्समा १५ देखि १८ वर्ष उमेरका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालयहरूमा कर्मचारी अभाव र जीर्ण भौतिक संरचनाको विरोधमा पछिल्ला केही सातादेखि लाखौँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्।
शनिवारको प्रदर्शनमा ट्रेड युनियनका सदस्य र अन्य समूह पनि सहभागी भएपछि प्रदर्शनकारीको सङ्ख्या थप बढेको थियो।
बढ्दो जीवनयापन खर्चको विरोधमा सन् २०१८ देखि एक वर्षभन्दा लामो समयसम्म आन्दोलन गरेका येलो भेस्ट आन्दोलनका सदस्यहरू पनि प्रदर्शनमा सहभागी थिए। उक्त आन्दोलन फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेका विरोध प्रदर्शनमध्ये एक मानिन्छ।
प्रदर्शनकारीका माग सम्बोधन गर्न सरकारले केही प्रयास गरेको देखिन्छ। शिक्षामन्त्री एडुआर गेफ्रेले अक्टोबर ८ मा एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा थप ३ हजार शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। यद्यपि, प्रदर्शन नरोकिएको बरु झन् चर्किएको देखिन्छ।\
यस्तो छ प्रर्दशनकोपृष्ठभूमि
गत सेप्टेम्बरको तेस्रो हप्तातिर पेरिसबाट दक्षिणपूर्वमा पर्ने सानो सहर क्रेतेइलमा एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, कक्षाकोठाको बिजोग जस्ता मुद्दा उठाएर सानो प्रदर्शन गरेका थिए । तर सामाजिक सञ्जालको प्रभावले त्यो विरोधको भिडियो देशव्यापी रुपमा फैलियो ।
१० दिनभित्रमै यो मुद्दा राष्ट्रिय मुद्दा बन्यो । विभिन्न समूहले भीडभाडयुक्त कक्षा, शिक्षक अभाव, अपर्याप्त भौतिक पूर्वाधार र अरू थुप्रै गुनासाहरू सम्बोधन गर्न भन्दै माग राख्न थाले । विद्यार्थी संगठन र अभिभावकहरूको समर्थनसँगै यो प्रदर्शन एउटा आन्दोलनमा रूपान्तरण भयो ।
त्यसपछि अक्टोबर ६ मा विशाल सडक आन्दोलन भएको थियो । जहाँ २ सय १५ युवा, ८५ शिक्षक कर्मचारी र ७ सयभन्दा बढी प्रहरी घाइते भए ।
त्यसपछि विभिन्न चरणमा यो आन्दोलनलाई निरन्तरता दिइयो । विद्यार्थी आन्दोलनलाई १३ अक्टोबरका लागि तय गरियो भने जीवनयापन खर्च र इन्धन मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई १७ अक्टोबरका लागि तय गरियो ।
तर शनिबार यी दुवै प्रदर्शनका सहभागीहरू एकढिक्का भए । फ्रान्सको यल्लो भेस्ट समूहले पनि ऐक्यबद्धता र सहभागिता जनाउँदा आन्दोलन व्यापक बन्यो । फ्रान्स अहिले तनावग्रस्त बनेको कारण यही हो ।
के हो यल्लो भेस्ट ?
यल्लो भेस्ट समूहको सम्बन्ध सन् २०१८मा भएको प्रदर्शन छ । त्यति बेला पनि राष्ट्रपति इमानुएल म्याक्रोँ नै थिए । र उनले इन्धनमा कर बढाउने योजना अघि सारेका थिए । तर दिनहुँ कामकाजका लागि लामो दुरीको यात्रा गर्नुपर्नेहरू, सवारी चालक तथा यातायात मजदुरहरूलाई इन्धनमा बढेको पैसा तिर्न बोझ भयो । यसपछि उनीहरूले २०१८ को नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन आह्वान गरे । त्यो प्रदर्शन विशेषगरी यातायात मजदुरको भएकाले उनीहरूबीच सहजै उपलब्ध हुने भनेको उनीहरूले लगाउने पहेँलो ज्याकेट थियो ।
तिनै पहेँलो ज्याकेटधारीहरूको आन्दोलन यति विशाल भयो कि इन्धनको मूल्यवृद्धिबाट विस्तार भएर म्याक्रोँको तत्कालीन आर्थिक नीतिकै आलोचनामा उत्रियो । तत्कालीन म्याक्रोँ सरकारका लागि सबैभन्दा ठूलो राजनीतिक चुनौती बन्यो । र अन्ततः म्याक्रोँ सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य नै भयो ।
जीवनयापन खर्च र इन्धन मूल्यवृद्धिविरुद्धको आन्दोलन भएकाले यही समूहले यसपालि पनि साथ दिएको हो ।
हाल फ्रान्समा अल्पमतको सरकार छ र यसलाई संसद्बाट सन् २०२७ को बजेट पारित गराउन सहयोग जुटाउन हम्मे हम्मे परिरहेको छ । विपक्षी दल खर्च कटौतीको प्रस्ताव रुचाइरहेका छैनन् ।
उता इन्धन र ऊर्जाको उच्च मूल्य अनि जीवनयापन खर्चको बढिरहँदा नागरिकमा असन्तुष्टि पनि त्यसैगरी चुलिँदो छ ।
सरकारकै अनुमानअनुसार सन् २०२६ मा फ्रान्सको बजेट घाटा अर्थात् आम्दानीभन्दा खर्चको अनुपात कुल गार्हस्थ्य उत्पादनको ५ दशमलब ४ प्रतिशत पुग्दै छ । यो भनेको युरो मुद्रा चल्ने कुनै पनि देशको तुलनामा सबैभन्दा उच्च हो ।
यो सब भइरहेछ आगामी राष्ट्रपति निर्वाचनभन्दा ६ महिनाअघि । फ्रान्समा २०२७ को अप्रिलमा राष्ट्रपतीय निर्वाचन हुँदै छ ।
नियमअनुसार म्याक्रोँ आफैँ लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा लड्न पाउँदैनन् । तर यो अवस्थामा अहिले वहालवाला राष्ट्रपतिविरुद्ध सडकमा ठूलो जमातले प्रदर्शन गर्छ र राजीनामा माग्छ भने त्यसको असर निर्वाचनमा पर्ने नै भयो ।
फ्रान्समा भइरहेको जस्तो प्रदर्शन त्यहीँ मात्र सीमित छैन । शनिबार बेल्जियम, इटाली र पोर्चुगलमा पनि बेग्ला बेग्लै प्रदर्शन भए ।
बेल्जियममा शिक्षा बेथिति, बढ्दो पढाइ खर्च र उच्च शिक्षामा पहुँच सीमित हुने जोखिमविरुद्ध शनिबार प्रदर्शन गरे । यो प्रदर्शन विश्वविद्यालय रजिस्ट्रेसन शुल्कविरुद्ध केही सातादेखि नै जारी थियो ।
उता इटालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनमा आएका केही व्यक्तिले आगजनी र लुटपाट मच्चाए । यो प्रदर्शन मूलतः संसारभर जारी युद्ध र बढ्दो जीवनयापन खर्चको विरुद्धमा थियो ।
पोर्चुगलमा पनि दशौँ हजार मानिस जीवनयापन खर्च बढेको भन्दै सडकमा उत्रिए । उनीहरूले न्यून ज्याला र आवासको व्यवस्था गर्न नसकिने अवस्था भएको भन्दै सडक तताएका थिए । पोर्चुगलमा घरको किन्ने वा भाडामा लिने मूल्य सन् २०१७ को तुलनामा दोब्बरभन्दा बढीले महँगो भएको छ ।
यही हप्ता भारतमा कक्रोच जनता पार्टीको आन्दोलन, उता अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन र अर्जेन्टिनामा विश्वविद्यालयको बजेट कटौतीविरुद्धको प्रदर्शन भएका छन् । यस्तो देखिन्छ( संसारका धेरै ठाउँमा एउटा पुस्ता नै संस्थापनविरुद्ध सडकमा उत्रिएको छ ।
कतिपयले फ्रान्ससहित अहिले विश्वका अनेक ठाउँमा भइरहेका आन्दोलनलाई नेपालको जेन(जी आन्दोलनसँग पनि तुलना गरेर हेरिरहेका छन् । हुन पनि विश्वव्यापीकरणको समयमा आन्दोलनहरूको आयात(निर्यात हुनु असामान्य होइन ।


प्रतिक्रिया