काठमाण्डु– कांग्रेस सभापति गगन थापाले बीपी कोइरालासँग आफ्नो पुस्ताको सम्बन्ध व्यक्तिगतभन्दा बढी आस्थामा आधारित रहेको बताएका छन् ।
शनिबार श्यामबहादुर कार्की स्मृति दिवसको कार्यक्रममा बोल्दै थापाले बीपीपुत्र एवं काँग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग हालै भएको कुराकानीको प्रसंग जोडेर बीपीप्रतिको आफ्नो धारणा सुनाए ।
थापाले शशांकका लागि बीपी पारिवारिक सम्बन्धले जोडिएका पिता भए पनि आफूहरूका लागि भने उनी आस्थाका पात्र रहेको बताए ।
बीपीलाई आफूले प्रत्यक्ष देख्न र भेट्न नपाए पनि उनको राजनीतिक तथा वैचारिक प्रभाव आफ्नो पुस्तामा गहिरो रहेको थापाको भनाइ थियो ।
उनका अनुसार बाल्यकालमै बीपीको निधन भएकाले आफूले उनलाई प्रत्यक्ष अनुभव गर्न पाएनन् ।
तर नेपालको राजनीतिक इतिहासमा बीपीको व्यक्तित्व र योगदानलाई सम्झिँदा आफ्नो मनमा आउने प्रमुख आकृति उनकै रहेको उनले बताए ।
बीपीसँग आफ्नो कुनै प्रश्न वा प्रत्यक्ष संवादको सम्बन्ध नभएको उल्लेख गर्दै थापाले त्यसलाई आस्थासँग जोडे । उनका अनुसार प्रश्न गर्न सकिने सम्बन्धभन्दा प्रश्न नै नगर्ने सम्बन्ध आस्थामा आधारित हुन्छ ।
यही प्रसंगमा उनले शशांकसँग भएको कुराकानीमा बीपीप्रतिको पारिवारिक र राजनीतिक आस्थाको सम्बन्धबीचको फरकबारे चर्चा गरेको बताए ।
कांग्रेसभित्र पछिल्लो समय आन्तरिक विवाद र राजनीतिक गतिविधि तीव्र भइरहेका बेला थापाको यस्तो अभिव्यक्ति आएको हो ।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा कांग्रेसको संस्थापनइतर शेरबहादुर देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गरेको छ ।
‘शशांक कोइरालासँग एकछिन अस्ति भलाकुसारीका क्रममा मैले बीपीबारे भनेको थिएँ । तपाईँका लागि बीपी कोइराला भनेको पिता हो । तपाईंहरूको सम्बन्ध भनेको बुवा छोराको हो’, सभापति थापाले भने, ‘बीपीसँग मेरो सम्बन्ध ईश्वर र भक्तको जस्तै हो । किनकि मैले देखेकै छैन, भेटेको पनि होइन, न मैले छोएको छु, न मैले छामेको छु, न मैले सुनेको छु । म सानो हुँदैमा बीपी स्वर्गवास हुनुभयो। तर अहिले पनि म आँखा चिम्म गरेर एकछिन बस्यो भने यो नेपालको सबैभन्दा विराट व्यक्ति को होला, म जस्ता अनगिन्ती मान्छेको जीवनमा प्रभाव पार्ने महापुरुष को होला भन्यो भने बीपी कोइरालाबाहेक अर्को चित्रै आउँदैन । त्यो आकृति नै आउँदैन ।’
बीपी कोइरालासँग आफ्नो कुनै प्रश्न नरहेकाले प्रश्नबिनाको सम्बन्ध आस्थाको सम्बन्ध हुने उल्लेख गरे । ‘भगवानसँग के प्रश्न हुन्छ ?’, थापाले भने ।
संस्थापन इतरको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले आफूहरुले भगवान मान्न खोज्दा ‘मान्न त पाउँछन्, तर यो त मेरो हो नि’ भन्ने काम भएको टिप्पणी गरे ।




प्रतिक्रिया