सांसदहरूले ‘जे बोले पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : सभापति थापा

सांसदहरूले ‘जे बोले पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सांसदहरूले जे बोले पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताएका छन् ।

नन्दप्रसाद जानुका फाउन्डेसनले बिहीबार काठमाण्डुमा आयोजना गरेको दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा सभापति थापाले भने, ‘अहिले चुनाव जितेर संसद् पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ ।’

संसद्मा प्राप्त १ मिनेटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी, सचेतता र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने उनको भनाइ छ । उनले विगतमा कांग्रेस–एमाले वा तत्कालीन नेकपासँग भएको दुईतिहाइको शक्ति जनताको असन्तुष्टिका कारण कसरी समाप्त भयो भन्ने इतिहासबाट पाठ सिक्नुपर्ने धारणा राखेका छन् ।

नयाँ उदाएका राजनीतिक दलहरूले विगतका गल्तीहरू नदोहोर्‍याइ आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । मुलुकले अब थप कुनै राजनीतिक दुस्साहस थेग्न नसक्ने भएकाले ५ वर्षको कार्यकाललाई रचनात्मक र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ ।

सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने उनले बताए ।