नेपालले चीनलाई उपहार दिएको एक जोडी गैंडाको विमानमार्फत् उडान


काठमाडौं– नेपालले चीनलाई उपहारस्वरुप दिएको एक जोडी एकसिंगे गैंडालाई चीन उडाइएको छ। भद्र र रुपसीलाई लिएर चिनियाँ कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडा चिनियाँ राजदूतलाई हस्तान्तरण गरेका थिए।

प्रम ओलीले चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताए।

प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम द्रुतगतिमा अघि बढेको जानकारी गराए।

मन्त्रिपरिषद्को विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गैंडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्को जोडी गैंडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा
व्यक्त गरे।

भाले गैंडाको तौल अनुमानित ९०० केजी छ भने पोथी गैंडाको तौल एक हजार २०० केजी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement