लायन्स कप भलिबलमा गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

लायन्स कप भलिबलमा गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफको जीतसँगै समूह ‘ए’बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा जीतसँगै एपीएफले अन्तिम ४ मा स्थान सुरक्षित गरेको छ । पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथो र पाँचौं सेटमा पुनरागमन जीत निकाल्दै सेमिफाइनल पुगेको छ ।

३ अंकले पछि परेको अवस्थामा एपीएफले चौथो सेटमा लगातार १२ अंक लिँदै २५–१४ ले जीत निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जीत दर्ता गरेको छ ।

पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शकलाई निराश पारेको छ । एपीएफ पहिलो खेलमा ईरानसँग पराजित भएको थियो । पहिलो खेलमा ईरानसँगै गण्डकी पराजित भएको थियो ।

प्रतियोगितामा समूह ‘ए’बाट इरानी टोली विजेता र एपीएफ उपविजेताको रूपमा अन्तिम ४ मा प्रवेश गरेका छन् ।

शनिबारको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । खेल नतिजाले सेमिफाइनल समीकरण टुंगो लाग्नेछ । पुलिस र भारतीय टोलीले समूह ‘बी’मा १/१ जीत दर्ता गराएका छन् । आर्मी भने जीतविहीन छ ।

प्रतियोगितामा ६ टीम सहभागी छन् । ईरानी र भारतीय टोलीसँगै गण्डकी तथा ३ विभागीय टोलीहरू आर्मी, पुलिस र एपीएफ सहभागी भएका छन् ।